Logo

अफगानिस्तानका भूकम्प प्रभावितलाई चीनद्वारा पाल वितरण



हेरात (अफानिस्तान), १८ मङ्सिर । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा दुई सय ८० भन्दा बढी भूकम्प प्रभावित परिवारलाई चीनले पाल प्रदान गरेको एक सरकारी अधिकारीले सोमबार बताएका छन् ।

प्रान्तको राष्ट्रिय विपद् प्राधिकरणका वित्त तथा व्यवस्थापनका प्रमुख अधिकारी अब्दुल सलाम बारिक्जाईले आइतबार जिन्दादान जिल्लामा प्रतिभूकम्प प्रभावित परिवारलाई एउटा पाल वितरण गरिएको र सहयोग वितरण प्रक्रिया जारी रहने बताए ।

सहयोग प्राप्त गर्ने अब्दुल करिमले भने, “विशेषगरी भूकम्प प्रभावितलाई मानवीय सहयोग पठाएकामा म चीनप्रति आभारी छु, यो सहयोगले हाम्रो समस्यालाई केही हदसम्म समाधान गर्नेछ, मेरो घर क्षतिग्रस्त भएको छ र यो पाल हाम्रा लागि आश्रय बन्न सक्छ ।”

चीनले हालै मानवीय सहयोगका लागि ४१ कन्टेनर पठाएको र वितरण प्रक्रिया आइतबार जिन्दादानमा भूकम्प प्रभावित परिवारलाई पाल दिएर सुरु गरिएको बारिक्जाईले बताए । उनले आवश्यक परेका परिवारलाई कपडासहित अन्य सामग्री वितरण गरिने जानकारी दिए ।

अफगानिस्तानमा अक्टोबर ७ मा दुई वटा घातक भूकम्प गएको थियो । पहिलो भूकम्प छ दशमलव दुई रेक्टर स्केलको थियो । जिन्दादान केन्द्रविन्दु भएर गएको भूकम्पबाट हजारौँ मानिस हताहत भएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot