काठमाडौं, २० मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहका छोरी ज्वाँई राजबहादुर सिंहको कार्यालयमा काम गर्ने भूपेन्द्र भण्डारी अहिले सञ्चारमन्त्री रेखा शर्माको दूरसञ्चार तथा सूचना प्रविधि सल्लाहकारको रुपमा काम गरेको खुलेको छ । गत असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई सल्लाहकारको रुपमा नियुक्त गरेको हो ।
पूर्वराजपरिवारसँग काम गर्ने व्यक्ति अहिले गणतन्त्रान्तिक व्यवस्थाका पिता मानिने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सञ्चारमन्त्री रेखा शर्माको सूचना तथा प्रविधि सल्लाहकारको भूमिकामा काम गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रका ज्वाँई राजबहादुर सिंहको दरबारमार्गमा रहेको अफिसमा काम गर्ने भूपेन्द्र भण्डारी अहिले सञ्चारमन्त्री शर्माको किचन क्याविनेटमा सक्रिय रहेको स्रोतको दाबी छ ।
यतिवेला एनसेलको सेयर खरिद बिक्रीको प्रकरण चर्चामा रहेको बेलामा सञ्चारमन्त्री शर्मा पनि विवादमा मुछिएकी छिन् । प्रधानमन्त्री पुष्पकमल दाहाल दुवईमा रहेको बेलामा नेपालमा एनसेलको सेयर खरिद बिक्री प्रकरण बाहिर आएको हो ।