काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको इतरसमूहको बैठक भोलि (बुधबार) बस्दैछ । नेता कोइरालाले बैठक आजका लागि आह्वान गरेपनि पार्टी महामन्त्री गगनकुमार थापालाई पनि समझदारीमा ल्याउनका लागि आजको बैठक सारिएको थियो । हिजो (सोमबार) बेलुका पार्टीका नेता अर्जुननरसिंह केसीसँग नेता कोइरालाले छलफल गर्दै आजको बैठक सारेका थिए ।
पार्टीको १४औं महाधिवेशनमा शेखर प्यानलबाट उम्मेदवारी दिएर महामन्त्रीमा विजयी भएको गगन र शेखरबीच अहिले सम्बन्ध चिसिएको छ । पछिल्लो समय गगनले गुट निर्माण गरेर आफैं नेतृत्व लिन खोजेको धेरैको अनुमान छ । गगन र शेखरबीचको तिक्तता संसदीय दलको नेताका लागि भएको निर्वाचनदेखि नै हो । गगन आफैंले संसदीय दलको नेतामा दाबी गरेर चुनाव लडेपछि शेखरले आफू निकट सांसदहरुको भोट पनि पार्टी सभापति शेरबहादुर देउवालाई दिन लगाएका थिए ।
त्यस्तै पछिल्ला घटना र पार्टीका निर्णयमा पनि गगन–शेखरबीच खुलेर छलफल हुन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा कांग्रेसबाट मन्त्री पठाउँदा इतरपक्षबाट शेखरले एकलौटी गरेको र गगनको कुरै नसुनेको बताइएको छ । साथै, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विद्रोहका लागि शेखरले उकासेको गगन समूहको आरोप छ ।
त्यस्तै, गगन थापा नआउने निश्चित भएपछि आजका लागि बोलाइएको बैठक सारिएको हो । गगन आज पूर्वनिर्धारित कार्यक्रम अनुसार बारामा आयोजित एक कार्यक्रममा सहभागी हुनेछन् । भोलि बस्ने बैठकका लागि भने गगनलाई खबर गरिएको छ । तर, गगनले बैठकमा सहभागी हुने वा नहुने केही प्रतिक्रिया दिएका छैनन् । उनी निकट स्रोतका अनुसार गगन उक्त बैठकमा सहभागी नहुने सम्भावना प्रवल रहेको छ ।
त्यस्तै, पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई भने बैठकको निमन्त्रणा गरिएको छैन । यसअघि इतरसमूहले पटक–पटक निमन्त्रणा गर्दा पनि उनी बैठकमा सहभागी हुन नचाहेकाले यस पटक नबोलाइएको बताइएको छ । महामन्त्री शर्माले यसअघि इतरसमूहले बोलाएको बैठक अस्वीकार गर्दै आएका थिए । File Photo/RN