Logo

कांग्रेस नेता ढकालको खुलासाः ‘पार्टी गिरोहले चलाएको छ’



काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसका नेता लोकेश ढकालले पार्टी हिरोहमार्फत चलेको आरोप लगाएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीमा गुट हुनु स्वभाविक भएपनि गिरोहमार्फत पार्टी चल्नु दुर्भाग्य भएको बताएका हुन् ।

‘नेपाली कांग्रेसको जन्मनै दुईटा गुट मिलेर भएको हो । जीवन्त पार्टीमा गुट हुन्छ । गुटसम्म त स्वभाविक हो । तर, चिन्ता चाहीँ के छ भने कांग्रेसभित्र गुटभन्दा पनि हाबी गिरोह छ । गिरोहले पार्टी चलाएको छ । अनि यो दुर्दशा भएको छ,’– उनले भने ।

पार्टी सभापति शेरबहादुर देउवा पूर्ण रुपमा असफल भएको उनको दाबी छ । देउवाले पार्टीलाई विधान र विधि पद्धतिअनुसार सही ढंगले चलाउनुपर्नेमा असफल भएको उनको दाबी छ । साथै, युवा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि असफल भएको उनले बताए । गगन थापाको विगत आफूलाई केन्द्रमा राख्ने भएकाले उनी स्थिर नरहेको बताए ।

देउवाको नेतृत्वमा केन्द्रीय कार्यसमितिले बेलामा पूर्णता पाउन नसकेको, विभागहरु अहिलेसम्म गठन नभएको, पार्टीका तल्लो तहका संगठनहरु परिचालन हुन नसकेको, प्रशिक्षणको काम नभएको, चिन्तन र बहस नभएको उनले आरोप लगाए । कांग्रेसको इतिहासमा १४औं महाधिवेशनपछिको नेतृत्व निकम्मा भएको उनको आरोप छ ।

पार्टीको विधानअनुसार महासमिति बैठक महाधिवेशन भएको १ बर्षभित्र हुनुपर्नेमा सभापति देउवाले अझै सार्न खोजेको उनको दाबी छ । कांग्रेस इतिहासमा निकम्मा भएर कम्युनिष्ट पार्टीको बुई चढेर हिँड्नुपर्ने अवस्थामा पुगेको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्