Logo

‘अनुचित’ राज्य–सञ्चालित नीतिबाट हट्न येलेनको चीनसँग आग्रह



वासिङ्टन, २९ मङ्सिर । अमेरिकी वित्तमन्त्री जेनेट येलेनले बिहीबार चीनसँग आर्थिक नीतिमा राज्य–सञ्चालित दृष्टिकोण हटाउन आग्रह रेका छन् । उनले उक्त मोडेलले लगानीकर्ताहरूलाई हतोत्साहित गर्नसक्ने बताए ।

वासिङ्टनमा युएस–चीन बिजनेस काउन्सिलको ५०औँ वार्षिकोत्सवको रात्रिभोजमा उनले भने, “सरकारी स्वामित्का उद्यमहरूका लागि अत्यन्त मजबुत भूमिकाले वृद्धिलाई रोक्न सक्छ र सुरक्षा संयन्त्रका लागि अत्यधिक भूमिकाले लगानीलाई निरुत्साहित गर्न सक्छ ।”

बौद्धिक सम्पत्तिका लागि सीमित सुरक्षा र घरेलु प्रतिस्पर्धीहरूलाई प्राथमिकता दिइएको भन्दै अमेरिकी कम्पनीहरूले चीनमा अनुचित व्यापारिक वातावरण रहेको लामो समयदेखि गुनासो गर्दै आएका छन् । यस वर्ष चीनमा काम गरिरहेका परामर्श फर्महरूमाथिको कारबाही र जासुसी विरोधी कानूनमा परिवर्तनले बेइजिङलाई राष्ट्रिय सुरक्षाका लागि खतरा भएको ठानेर कारबाही गर्न पहिलाभन्दा पनि धेरै शक्ति दिने डर बढेको छ ।

हालै युएस–चीन बिजनेस काउन्सिल सदस्य सर्वेक्षणलाई उद्धृत गर्दै वित्तमन्त्री येलेनले कम्पनीहरूले लगानी योजनामा पुनरविचार गरिरहेकाले यो बेइजिङका लागि चासोको विषय हुनुपर्ने बताए ।

सन् २०१६ पछि कुनै पनि वर्षको तुलनामा सन् २०२३ को सर्वेक्षणमा कम्पनीहरूले ठूलो अनुपातमा केही परिचालनलाई चीनबाट बाहिर सार्ने योजनाको सङ्केत दिएका छन् । येलेनले कम्पनीहरूको योजनाले चीनमा संरचनात्मक सुधारहरूलाई अगाडि बढाउने सम्भावित लाभहरूतर्फ सङ्केत गरेको बताए ।

“धेरै लामो समयदेखि अमेरिकी कर्मचारी र कम्पनीहरू चीनसँग समानस्तरमा प्रतिस्पर्धा गर्न सक्षम छैनन्”, चीनलाई उल्लेख गर्दै भने, “चीनले गैरबजार उपकरणहरूदेखि लिएर विदेशी कम्पनीहरूको पहुँचमा अवरोध र अमेरिकी कम्पनीहरू विरुद्ध जबरजस्ती कारबाहीसम्म अनुचित आर्थिक प्रचलनहरूलाई प्रयोग गर्दछ ।” रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot