काठमाडौं, पुस १ । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने भएको छ ।
दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएका छन्। दर्ता भएका दललाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ ।
दल दर्ताका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी लगायतले आवेदन दिएका थिए । आवेदन परेका दलको निवेदनमाथि आज जाँचबुझ सुुरु हुनेछ ।
आउँदो फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० वटा पद रिक्त हुँदैछ । माघ ११ गते १९ पदका लागि चुनाव हुनेछ भने एक पदमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।