Logo

काठमाडौं उपत्यकामा डलर साट्ने नाममा लुटपाटका घटना बढ्दै



काठमाडौं, ४ पुस । काठमाडौं उपत्यकामा पछिल्लो समय डलर साट्ने नाममा लुटपाटका घटना बढ्दै गएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उपत्यकामा लुटपाट गर्नेहरुको र्‍याकेट सक्रिय रहेको बताइएको छ ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमुद ढुङ्गेलले उपत्यकाका विभिन्न स्थानबाट डलर साट्ने बहानामा ठगीका घटना बढिरहेको बताए ।

प्रहरीले विगत केही दिनदेखि विशेष टोली परिचालन गरी उक्त प्रवृत्तिलाई नियन्त्रणमा लिन खोजिरहेको बताइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मंगलबारसम्म खोजीका क्रममा आठ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा पक्राउ पर्नेमा हाल काठमाडौं सामाखुसी बस्दै आएका धादिङका ३४ वर्षीय खड्काबहादुर तामाङ रहेका छन् । मोरङका ३६ वर्षीय अशोक लिम्बु, सिन्धुपाल्चोकका रामबहादुर लामा, भक्तपुर दुवाकोटका ३६ वर्षीय सुब्बा तामाङ, काठमाडौं तारकेश्वरका ४५ वर्षीय चन्द्रबहादुर तामाङ र सिन्धुपाल्चोकका रेलबहादुर तामाङ, देवराज तामाङ र कृष्णकुमारी तामाङ उर्फ ​​मञ्जु रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ५० दरको वास्तविक अमेरिकी डलरको १६ थान, राहदानीका दुई प्रति, तिलहरीको हार र एउटा स्कुटर बरामद गरेको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेर थप अनुसन्धान भइरहेको छ । पक्राउ परेकाहरूसँगै लुटपाटमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्