मनाङ, ६ पुस । मनाङको गाउँघर पूर्ण रुपमा हिउँ नै हिउँले ढकमक्क ढाकेको छ । लेकको खर्कबाट बेँसी झारिएको चौँरीका गोठ पनि हिउँले ढाकिएका छन् । वरिपरि हिउँका ढिस्का छन् । यिनै हिउँका ढिस्काभित्र रहेका याकचौँरीका बथानसँग यहाँका किसान रमाइरहेका भेटिन्छन् ।
पशुपालक किसानलाई ‘न त घाम न त वर्षाले असर गर्छ’ भने झैँ यहाँका किसानलाई न त हिउँले रोक्न सकेको छ न त घामले नै छेक्न सकेको छ । हिउँ पर्न थालिसकेकाले यहाँका गोठ वरिपरि सेताम्मे हिउँ छन् यतिबेला । यही गोठ वरपर सेताम्मे हिउँ हटाउँदै आएका मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका ६० वर्षीया याङ्चु खण्डा लामा गोठमै बसेर उमेर गुज्रिएको बताउँछन् ।
सानो उमेरदेखि नै गोठ र याकचौँरीसँगै जीवन गुजार्दै आएको उनले बताए । उनले भने, “चौँरी जता हामी पनि उतै जान्छौँ । चौँरीसँगै जीवन गुजारा चलाउँदै गएका छौँ । हाम्रो त छोराछोरी जस्तै हो याकचौँरी । यिनीहरुको स्याहारसुसारमै जीवन बितेका छ । हामी बूढाबूढी र चौँरी नै अहिलेका लागि समाज भएको छ । ” बेँसीसहरबाट सामान बोकेर सामान ल्याउने र खाने गरिएको उनले सुनाए ।
त्यस्तै ६१ वर्षीय निङ्मा सोनाम लामाले चौँरी गोठसँगै जीवन गुजारिएको थाहै नभएको बताए। उनले भने, “याकचौँरीको स्याहारसुसार गर्दागर्दै जीवन गुजिँदै गएको थाहा पाएन । यहीँ काम गर्दागर्दै बिहे र बालबच्चा हुर्कायौँ । अहिले हामी गोठमा छौँ । तर, छोराछोरी काठमाडौँ पठनपाठनका लागि पठाएका छौँ ।” १३ वर्षको उमेरदेखि गोठमा बस्न थालेका निङ्मा सोनामले गोठ सार्दा सार्दै बिहे भएको आफ्नो अनुभव सुनाए ।
चिसो छल्न जान त मन लाग्ने तर, यी पशुचौपायलाई छाड्दा मर्न सक्ने हुँदा छाड्न नसकेको उनले बताए । उनले भने, “गोठसँगै जोडिएको छ हाम्रो जीवन । गोठमै बच्चा जन्माएर हुर्कायो । अहिलेसम्म पनि हामीले गोठ र याकचौँरीसँगै छ । तर, याकचौँरीपालन छाड्न सकेका छैनौँ । हाम्रा बालबच्चा जस्तै गरी माया गरे त हामीले आम्दानी लिन सकिन्छ नि ! आम्दानी राम्रो लिनका लागि नै त हो यिनको स्याहारसुसार गर्ने । त्यसैले गरिरहेका छौँ ।”
याकचौँरी बेचेर नै जीविकोपार्जन चलाउँदै आएको उनले बताए । मुख्य आयस्रोत नै याकचौँरी भएको उनले बताए । पहिले हामीले याकचौँरी २५ हजारदेखि ३५ हजारमा याकचौँरी बिक्री गरिन्थ्यो । तर अहिले याकको एक लाख ५० हजारसम्म र चौँरीको ९० हजारसम्म मूल्य पाउने गरेको उनले बताए । यहाँका पशुपालक किसानको आयस्रोत नै याकचौँरी हो ।
त्यसैगरी, फुगाउँका कर्म तेन्जिङले हिउँ पर्न थालेपछि चिसो बढेपछि क्याङमा झरेको र पशुचौपायको स्याहारसुसारमा व्यस्त रहेको बताए । पशुपालन नै जीविकोपार्जनको स्रोत भएको उनले बताए । मनाङका अन्यत्र क्षेत्रमा याकचौँरीको छाला तथा ऊनबाट बनेको लुगा बनाउने कार्य लोप हुन लागेको उनले सुनाए।
फुगाउँका ङिमा एञ्जो लामाले भने, “हामी त यहीँबाट लुगा र दोचा बनाउछौँ । अहिलेका मानिसले त यस्तो लगाउन पनि खोज्दैनन् । हामीले जानेको सीप अहिलेका मानिसले सिक्नै खोज्दैनन् । लगाउन पनि रुचाउदैनन् ।” अहिले त जमाना फेरिएको उनले बताए । हिमाली जिल्ला मनाङका पशुपालक किसान चिसो बढेसँगै बेँसीमा गोठ झारे पनि गोठमै व्यस्त छन् ।
मनाङमा यतिबेला चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै यहाँका अधिकांश मानिस जाडो छल्न अन्यत्र जान्छन् । तर, चौँरीपालक किसान भने गोठमै रहन्छन् । चौँरीपालक किसानलाई न त जाडोले छेक्छ न त गर्मीले नै । विगतमा पशुपालन र कृषिमा मात्रै आत्मनिर्भर रहेको मनाङ हाल घट्दो क्रममा रहेको छ ।
याकचौँरीपालनमा व्यस्त रहेका नार्पाभूमि गाउँपालिकाका निवर्तमान अध्यक्ष मिङ्मा छिरिङ लामालेसङ्घीयता आइसकेका तर यहाँसम्म विद्युत्, सडक, यातायात जस्ता आधारभूत आवश्यकताबाट वञ्चित रहेका बताए । उनले भने, “स्थानीय सरकारले आभारभूत आवश्यकता पूरा गर्न पहल गरिरहेका छौँ । तर, स्थानीय सरकारको बजेटले पूरा गर्न सकिँदैन रहेछ । माथिल्लो तहबाट सहयोग आवश्यक छ ।”
नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामाले अन्य पालिकाको तुलनामा यस पालिकामा पशुपालन र कृषिमा नै आधारित रहेका बताए । अन्य क्षेत्रका मानिस जाडो छल्न अन्यत्र गए पनि यहाँका मानिस गाउँबाट तल भाग क्याङमा झरेर बसोबास गर्ने गरेका उनले बताए । तल्लो भागमा झरेर पशुपालन तथा पशुचौपायको स्याहारमा व्यस्त रहेको उनले बताए । यस क्षेत्रमा सडक अभाव रहेको उनले सुनाए। सडक सञ्जालसँग यहाँका बस्तीलाई सहज बनाउन सकिएमा सदरमुकाम सामान लिन जान र आउन दुई लाग्नेमा घट्ने उनले बताए । सडक सञ्जाल सहज हुनासाथ यहाँका बसाइमा सहजता आउनेछ ।रासस