Logo

यमनमा युद्धरत पक्ष शान्ति प्रक्रिया अघि बढाउन सहमत



दुबई, ८ पुस । यमनका लागि संयुक्त राष्ट्रसङ्घीय दूतले यमनका युद्धरत पक्षहरूले नयाँ युद्धविराम गर्ने प्रतिबद्धता व्यक्त गरेको र युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा शान्ति प्रक्रियामा संलग्न हुन सहमत भएको शनिबार बताएका छन् ।

यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गले गरेको यो घोषणा नौ वर्षदेखि जारी युद्ध अन्त्य गर्ने पछिल्लो कदम हो ।

साउदी अरब र ओमानमा ग्रुन्डबर्गले यमनसमर्थित राष्ट्रपति परिषद्का प्रमुख रशाद अल–अलिमी र इरान समर्थित हुथी विद्रोहीका प्रमुख वार्ताकार मोहम्मद अब्दुल सलामसँग हालै गरेको भेटवार्तापछि यो निर्णय भएको हो ।

कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार ग्रुन्डबर्गले राष्ट्रव्यापी युद्धविराम लागू गर्ने र समावेशी राजनीतिक प्रक्रियाको पुनः सुरु गर्ने तयारीमा संलग्न हुन द्वन्द्वरत दुबै पक्षले देखाएको इच्छाको स्वागत गरेका छन् ।

“राजदूतले अब संयुक्त राष्ट्रसङ्घको आयोजनामा यी प्रतिबद्धताहरू समावेश गर्ने र तिनको कार्यान्वयनलाई सहयोग गर्ने रोडम्याप बनाउन द्वन्द्वरत पक्षहरूसँग संलग्न हुनुहुनेछ,” विज्ञप्तिमा भनिएको छ ।

सन् २०१४ मा इरान समर्थित हुथी विद्रोहीले राजधानी सानालाई आफ्नो नियन्त्रणमा लिएपछि यमन द्वन्द्वको चपेटामा परेको छ ।

संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा सन् २०२२ को अप्रिलमा लागू भएको युद्धविरामले शत्रुतामा तीव्र कमी ल्यायो । युद्धविराम गत वर्षको अक्टोबरमा समाप्त भएपनि धेरै हदसम्म युद्ध र क्षति रोकिएको छ । ग्रुन्डबर्गले अब युद्ध अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको तत्वावधानमा रोडम्याप लागु गर्ने कामको नेतृत्व लिनेछन् ।

उक्त रोडम्यापमा निजामती कर्मचारीको तलब भुक्तानी गर्ने, विद्रोहीले अवरोध गरेको शहर ताएज र यमनका अन्य भागमा बाटो खोल्ने र तेल निर्यात पुनः सुरु गर्ने प्रतिबद्धता पनि समावेश गरिएको छ । ग्रुन्डबर्गले भने, “यमनवासीले ठोस परिणाम र दिगो शान्तिको दिशामा प्रगति प्रदान गर्ने यो नयाँ अवसरको प्रतीक्षा गरिरहेका छन् ।”

द्वन्द्वरत पक्षहरुले महत्वपूर्ण कदम चालेका छन् । उनीहरूका प्रतिबद्धताहरू सबैभन्दा पहिले यमनका जनताप्रतिको दायित्व हुन् ।

इजरायलले हमास लडाकूसँग लडिरहेको गाजा पट्टीमा प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउन ‘रेड सी’को प्रमुख पारवहन मार्गमा हुथी विद्रोहीहरूले आक्रमण गरिरहेका बेला यो सम्झौता भएको हो ।

हुथी विद्रोहीले गत अक्टोबर ७ देखि शुरु भएको इजरायल–हमास युद्ध अन्त्य नभए इजरायली बन्दरगाहतर्फ जाने इजरायलसँग सम्बन्धित पानीजहाज वा जहाजमाथि आक्रमण गर्ने प्रतिबद्धता जनाएका थिए ।

पेन्टागनका अनुसार ३५ भन्दा बढी देशका १० व्यापारिक जहाजलाई लक्षित गरी उनीहरूले १०० भन्दा बढी ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेका छन् ।

विद्रोहीहरूको आक्रमणले विश्वव्यापी व्यापारको १२ प्रतिशत हिस्सा ओगट्ने पारवहन मार्गलाई खतरामा पारिरहेको छ, जसका कारण संयुक्त राज्य अमेरिकाले ‘रेड सी’को पानीजहाजको सुरक्षाका लागि बहुराष्ट्रिय नौसैनिक कार्यदल स्थापना गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot