Logo

प्रधानमन्त्रीका प्रेस सल्लाहकारलाई प्रश्न- सरकारका एक वर्षे उपलब्धि के-के हुन्?



काठमाडौं, पुस १० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले एक वर्षको अवधिमा सरकारले गरेका कामहरू र गर्न नसकेका कामहरूको बारेमा आज प्रधानमन्त्रीले प्रष्ट पार्ने बताएका छन्। प्रधानमन्त्रीले आज सरकारमा आउँदाको अवस्था र अहिले एक वर्षको कार्यकालमा गरेका कामको फेहरिस्त प्रस्तुत गर्ने उनले बताए।

प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा आज साँझ ५ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम छ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै आचार्यले एक वर्षको अवधिमा सुशासन र सामाजिक न्यायको पक्षमा थुप्रै उपलब्धि हासिल गरेको बताए। देश श्रीलङ्का जस्तो बन्दै छ भन्ने भाष्य निर्माण भएको अवस्थाबाट सरकारको नेतृत्व लिएका प्रधानमन्त्री प्रचण्डले देशमा रहेका बेथितिलाई अन्त्य गर्दै भ्रष्टाचारका ठुल–ठुला काण्डहरूका दोषीलाई कारबाही भएको उनको दाबी छ।

नेपालीहरू नागरिकताविहीन रहेको अवस्थामा नागरिकता विधेयक पास गरेर ७० हजार नागरिकले नागरिकता प्राप्त गरेको बताउँदै उनले मिटर ब्याज पीडितहरूले न्याय पाएको, विमानस्थलबाट हुने सुन तस्करीलाई नियन्त्रण गरेको बताए । सरकारले केही गर्न सकेन भन्नेहरूलाई यी कामहरूले खण्डन गर्ने उनले दाबी गरे। एकैपटक सबै परिणाम नआउने भएकाले बिस्तारै सुधार हुँदै गएको बताए ।



प्रतिक्रिया दिनुहोस्