Logo

कार्यसम्पादन र क्षमताका आधारमा मन्त्री फेरबदल : नेता विश्वकर्मा



काठमाडौं,१२ पुस । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कार्यसम्पादन र क्षमताका आधारमा केहि समयपछि मन्त्रीहरुले फेरबदल हुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व वाणिज्य मन्त्रीसमेत रहेका नेता विशवकर्माले गलत नियतले काम गर्नेहरुलाई निरुतसाहित गर्ने र निराशा बोकेकालाई आसा जगाउनु नै सरकारको अहिलेको मूख्य काम भएको जनाउँदै कांग्रेसबाट सरकारमा सहभागी नौ जना मन्त्रीहरुको कार्यसम्पादन र क्षमताको आधारमा केहि समयपछि मन्त्री फेरबदल हुने बताए ।

सरकार तटस्थ र लक्ष्यनिर्दिष्ट भए देशमा भ्रष्टाचार अन्त्य हुने बताउँदै उनले पहुँचवाला व्यक्तिहरुले गैरकानुनी र अनैतिक लाभ लिने र पहुँचविहिन व्यक्तिहरुले देशमा केहि छैन भन्ने भएर विदेश पलायन हुने लहड देखिएको बताए । यो विकराल अवस्थाबाट देशलाई जोगाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, “सरकारले अत्यन्तै तटस्थ र लक्ष्यनिर्दिष्ट भएर दिनानुदिन विकाशका नयाँ काम गरेर युवाशक्तीमा सरकारले यस्तो काम गर्दै छ अब विदेशीनु पर्दैन र स्वदेश मै फर्किदा हुन्छ भन्ने महसुस गराओस् । भ्रष्टाचार गर्नेहरुलाई पनि सरकारले यस्तो निर्णय गर्‍यो अब भ्रष्टाचार गर्न मिल्दैँन, थुनिन्छ र पक्राउ परिन्छ भन्ने महसुस गराउन सकेमात्रै देशको विकाश हुने र भ्रष्टाचार बेथिती अन्तय हुनेछ ।’

यस्तै सरकारले गनुपर्ने काममा तीव्र गतिको परिवर्तन नदेखिएपछि आम नागरिकमा अब देशमा केहि पनि हुन सक्दैँन भन्ने भाष्य निर्माण भएकाले पहुँचवालालाई ब्रम्हलुट गर्ने अवसर सिर्जना गर्ने र पहुँच नभएकालाई निराशा हुँदै विदेश पलायन हुने अवस्था आएको उनले तर्क गरे।

यस्ता चुनौतीलाई पार गर्दै अवसरमा बदल्नुपर्नेमा जोड दिँदै समस्यालाई समाधानमा रुपान्तरण गर्न आवश्यक रहेको र अहिलेको सरकारको मूख्य जिम्मेवारी पनि यहि भएकाले यीनै विषयमा मन्त्रीहरुले काम गर्नुपर्ने नेता विश्वकर्माको सुझाव रहेको छ ।

आज बस्ने कांग्रेसको केन्द्रीय समिति बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी मन्त्रीले गरेका काममाथी समिक्षा हुने जनाईएको छ ।

प्रचण्ड नेतृत्व सरकारमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसबाट नौ जना मन्त्री सरकारमा सामेल रहेका छन् । मन्त्रीहरूले पार्टीसँग समन्वय गरी काम नगरेको यसअघि बसेका केन्द्रीय समिति बैठकमा गुनासो आएपछि आजको बैठकमा मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्