Logo

‘एकेडेमिया ईन्डष्ट्रि मिट–२०२३’ केयूमा हुँदै



काठमाडौं, १२ पुष । धुलिखेलस्थित् काठमाण्डौ विश्वविद्यालय (केयू) को एकेडेमिया ईन्डष्ट्रि को–ओपरेशनले नेपालको ईतिहासमै पहिलो ‘एकेडेमिया ईन्डष्ट्रि मिट–२०२३’ को आयोजना गर्दैछ ।

‘एकेडेमिया ईन्डष्ट्रि मिट–२०२३’ को मुख्य उद्देश्य सरकार, उद्योग र प्राज्ञिक संस्थाहरुलाई एकै छातामुनि आबद्ध गराएर देश विकासमा सहकार्य गर्ने रहेको छ । ‘एकेडेमिया ईन्डष्ट्रि मिट–२०२३’ पुस १३ गते केयूको सिभि रमण हलमा हुनेछ । सम्मेलन विहान ९ देखि १२ बजेसम्म चल्नेछ ।

सो सम्मेलनमा देशको शिक्षा, उद्योग र नीति निर्माणमा रहेका विद्यमान समस्याहरुको पहिचान गरी समाधान गर्ने, अनुसन्धान र उद्योगबीच सहकार्य बढाउँदै औद्योगिक विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र राज्यको नीतिलाई रोजगार मुखी र औद्योगिक मैत्री बनाउने विषयमा छलफल तथा अन्र्तक्रिया हुनेछ ।

केयूका उपकुलपति प्रा.डा.भोला थापाले पछिल्लो समय नेपालको उच्च शिक्षामा देखा परेको समस्या, विद्यार्थीहरुको बाहिरीदो क्रमलाई रोक्न र रोजगार सिर्जनाका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

‘एकेडेमिया ईन्डष्ट्रि मिट–२०२३’ का संयोजक डा. राम लामाले सम्मेलनबाट आएको सुझाव तथा निष्कर्षले विद्यमान समस्या र चुनौतीलाई छिचोल्दै देशलाई औद्यागिक विकास मार्फत आर्थिक उन्नतिको बाटोमा हिँडाउन मार्गदर्शन हुने बताए ।

सम्मेलनमा पूर्व प्रधानमन्त्री तथा अर्थशास्त्री डा.बाबुराम भण्ट्टाराई, पूर्व अर्थमन्त्रीहरु वर्षमान पुन र सुरेन्द्र पाण्डे, मुख्य सचिव डा. बैकुण्ठ अर्याल, उद्योग सचिव मुकुन्द प्रसाद निरौला, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, केयूका रजिष्ट्रार तथा अर्थशास्त्री प्रा.डा. अच्यूत प्रसाद वाग्लेले आ–आफ्नो क्षेत्रका बारे प्रस्तुति पश्चात खुल्ला छलफलमा सहभागि हुने सम्मेलन संयोजक डा. लामाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot