काठमाडौं, पुस १६ । बालकुमारी घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाही गर्न चौतर्फी दबाब बढेपछि सरकारले आज उच्चस्तरीय आयोग गठन गरेको छ ।
आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षताका उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको हो । एआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईलाई आयोगको सदस्य तोक्दै एक महिना भित्र घटनाको प्रतिवेदन बुझाउन आयोगलाई समय दिईएको छ ।
यसअघि गृह मन्त्रालयले घटना भएकै दिन शुक्रवार नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । तर समितिमा पीडित पक्षको प्रतिनिधित्व नभएको भन्दै मृतकका परिवारले प्रधानमन्त्रीलाई भेटेरै न्यायिक आयोगको माग गरेका थिए ।
सरकारले प्रहरीको गोली लागेर दुई युवाको ज्यान गएको बालकुमारी घटनामा ललितपुरका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसहित पाँचजनालाई जिम्मेवारीबाट सरुवा गरिएको छ ।
प्रहरीको गोलीबाट मारिएका दुई युवाका आफन्तले आफूहरूले राखेको ८ बुँदे माग पूरा नगरेसम्म शव नबुझ्ने बताएका छन् । सो घटनामा प्रहरीले चलाएको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।