Logo

ओलीले माधव नेपाललाई दिएनन् भाउ



काठमाडौं,१६ पुस । सत्तारुढ दल नेपाली कांग्रेसले आज राष्ट्रिय मेलमिलाप दिवस मनाइरहेको छ । आजभन्दा ४८ वर्षअघि भारत निर्वासनमा रहेका नेपालकै पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गतेलाई राष्ट्रिय मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ ।

यसपटकको राष्ट्रिय मेलमिलाप दिवसमा कांग्रेसले शान्ति प्रक्रिया र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका विभिन्न राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरेको थियो ।

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु धेरै समयपछि एउटै मञ्चमा देखिएका थिए । प्रधानमन्त्रीसँगै पूर्व प्रधानमन्त्रीत्रय केपी शर्मा ओली,बाबुराम भट्टराई र माधव नेपालसँगै तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीलगायत कार्यक्रममा पुगेका थिए ।

प्रज्ञा भवन कमलादीमा भएको कार्यक्रममा सत्तापक्ष र प्रतिपक्षीबीच राम्रै शिष्टाचार देखिएको थियो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मन्तव्यका लागि आमन्त्रण गर्दै गर्दा कांग्रेस कार्यकर्ताले तालीको गडगडाहटले राम्रै स्वागत गरेका थिए ।

मन्ञमा पुगेका ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका कामदेखि भारतले अतिक्रमण गरेको लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गरेको र विपी मेलमिलापको नीति लिएर स्वदेश फर्किएकोसम्म कुरा गर्न भ्याए । ओलीले वर्तमान सरकारको तिखो आलोचना नगरेपनि राजतन्त्र र राजसंस्था पक्षधरप्रति भने तिखो छेडखानी गरे ।

सत्ता र प्रतिपक्षीबीच राम्रै शिष्टाचार देखिएपनि पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने ओलीले कुनै भाउ नै दिएनन् । आफ्नो मन्तव्य राखेर फर्किनेक्रममा कांग्रेस सभापति देउवा तथा प्रधानमन्त्री प्रचण्डलगायतका नेतासँग हात मिलाएका ओलीले नेपालसँग हात अघिसार्ने कुनै चेष्टा नै गरेनन् ।

त्यसो त २ वर्षअघि एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गरेका नेपाल र ओलीबीच त्यसबेलादेखि नै सम्बन्ध सुमधुर छैन् । नेकपा एकीकृत समाजवादीलाई राजनीतिक दलको मान्यतासमेत नदिएका ओलीले यसअघि बडादशैं तथा तिहारको अवसरमा पार्टीले आयोजना गरको चियापान कार्यक्रममा भने बोलाएका थिए । तर, अध्यक्ष नेपालले पनि एमाले मूख्यालय च्यासल पुग्ने इच्छा देखाएनन् । बरु पार्टी कामका लागि भन्दै बाराको सिमरा हानिएका उनी दिनभर उतै अलमलिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot