Logo

जनतामा बढेको निराशा मुलुकको विकाशका लागि खतरा : सभापति खतिवडा



काठमाडौं, पुस १७ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जनतामा निराशा देखिए मुलुकको विकास नहुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सभापति खतिवडाले देशव्यापी अवस्था हेर्दा जनतामा निराशाबादी धेरै देखिएकले यहि अवस्थामा अवस्थामा मुलुकको विकाश हुन नसक्ने स्पष्ट पारे । मुलुकको विकास र सरकारको प्रगतीप्रति जनतामा निराशा हटाउने विषयमा सरकार गम्भिरतापूर्वक जानुपर्ने उनको भनाई छ ।

सभापति खतिवडाले इश्युगत रुपमा कुनै पनि मुद्दामा संसदीय समितिहरु निष्क्रिय नभएको दाबी गर्नुभयो । राज्य व्यवस्था तथा सुशासन समितिलाई व्यक्तिगत स्वार्थको रुपमा नलिएको स्पष्ट पार्दै उनले देशका मुद्दा, जनताका ईश्यु र मुद्दालगायतका विषयमा छलफल हुने बताए।

समसामहिक इश्यु र बस्तुगत आधारमा जनताका आवाजहरु संसदीय समितिमार्फत प्रस्तुत हुने सभापति खतिवडाको भनार्इ छ । बनाउनुपर्ने कतिपय कानुन र नियमहरु पनि समितिमार्फत छिटो भन्दा छिटो निर्माण गरेर अगाडि बढाउन तयारी रहेको उनले जानकारी दिए ।

संसदीय समितिहरुमा छलफल र विद्येयकहरु पारित गरिसकेपछि संसदमा लाने बताउँदै सभापति खतिवडाले राष्ट्रिय सभाको निर्वाचन सकिए लगत्तै संसदका दुवै बैठक बस्ने स्पष्ट पारे।

राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भइसकेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने पनि सभापति खतिवडाको भनाइ छ । राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदै छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम रहेको छ भने आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका निर्वाचित १९ र मनोनीत एक गरी २० सदस्यको कार्यकाल सकिँदैछ । कार्यकाल सकिने एक महिनाअघि निर्वाचन भइसक्नुपर्ने कानुनी व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्