Logo

भन्सारको लुटको कमिशन बालुवाटार पुगेको छ : आजपा



काठमाडौं, १८ पुष । प्रभु साह नेतृत्वको आम जनता पार्टीले भन्सारमा हुने गरेको लुटको (कमिशन) सिधै बालुवाटार पुग्ने गरेको आरोप लगाएको छ । आजपाको आम सम्पर्क मञ्चले भन्सारमा रहेको लुटकारी व्यवस्था खारेजीको माग गर्दै आन्दोलन गरेको आज १८ दिन पुगेको छ ।

तर, सरकारले कुनै चासो नदेखाउनुमा कतै भन्सारको कमिशनको ठूलो रकम बालुवाटार त पुगेको छैन ? भन्ने आफूहरुको आशंका रहेको आन्दोलनमा उत्रिएका आजपाका उपाध्यक्ष तिलक थपामगरको प्रश्न छ ।

आफूहरुले भन्सारमा हुने लुटतन्त्रबारे ध्यानाकार्षण गराउनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष यसअघि नै ज्ञापनपत्र बुझाएको उल्लेख गर्दै आज आन्दोलनको १८औं दिन आईसक्दापनि सरकारको जिम्मेवार निकायबाट कुनै प्रतिक्रिया नआउनुले यसमा सबै निकाय र माथिल्लो तहसम्म भन्सारको कमिशन पुग्ने गरेको निश्कर्ष निकालेको थापाको दाबी छ ।

आम सम्पर्क मञ्चले भन्सारमा कमिशनबाट पुरस्कृत हुने कर्मचारी र पुरस्कारको राशि सार्वजनिक गर्न माग गरेको छ । भन्सार घेराउको क्रममा आन्दोलनकारीहरुले “भन्सारमा ४५% रकमले पुरस्कृत हुने कर्मचारीको नाम सार्वजनिक गर्न र भन्सार छली नियन्त्रणको नाममा प्रहरीद्वारा भईरहेको छिनछोर बन्द गर्न” माग गर्दै आएका छ्न ।

देशको आर्थिक संकट सुधारको लागि राजस्व चुहावट रोक्न जरुरी रहेको आजपाको भनाई छ । ‘यसरी पुरस्कारको नाममा भन्सारबाट उठेको रकम झण्डै ५०% सिधै मन्त्री एवं उच्चपदस्थ कर्मचारीको खातामा जानु कुनै हिसाबले सही होइन ।’–थापाले भने,‘भन्सारमा भईरहेको भ्रष्टाचारजन्य कार्य रोक्न र सिमा क्षेत्रको जनताको मनोबल उठाउन गरिएको आन्दोलन झण्डै ४ महिना पुगिसक्दा समेत सरकारले कुनै सुनुवाई नगर्नु दुःखद् हो । यस जनपक्षीय कार्यमा सबैको सहयोगको लागि विशेष अनुरोध गर्दछु ।’

आम सम्पर्क मञ्चले भन्सारको उक्त लुटकारी व्यवस्था खारेज नगरे छिट्टै तेस्रो चरणको आन्दोलन पनि घोषणा गर्ने तयारी गरेको छ । तेस्रो चरणको आन्दोलन भने भन्सार विभाग तोडफोड गर्ने र कर्मचारीहरुलाई कार्यालय प्रवेशमा निषेध लगाउनेसम्मको हुने आजपाका नेताहरुको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot