Logo

‘दक्षिण कोरियाली विपक्षी नेतामाथि छुरा प्रहार गरी हत्याको असफल प्रयास’



सियोल, १८ पुस । दक्षिण कोरियाली विपक्षी नेता ली जे–म्युङको घाँटीमा छुरा प्रहार गरी हत्या गर्ने प्रयास गरिएको पार्टीका एक सांसदले बुधबार बताएका छन् ।

दक्षिणी बुसान शहरमा मङ्गलबार पत्रकारहरूले लीसँग समसामयिक बिषयमा प्रश्न गरिरहेका समय समर्थकको भेषमा आएका एक व्यक्तिले भीडलाई धकेलेर उनको घाँटीको बायाँपट्टि चक्कुले आक्रमण गरेका थिए ।

प्रत्यक्षदर्शीले स्थानीय प्रसारक वाईटीएनलाई बताएअनुसार ५९ वर्षीय नेता पत्रकारसँग कुरा गरी आफ्नो कारमा जाँदै गर्दा आक्रमणकारीले उनको अटोग्राफ मागेका थिए ।

टाउकोबाट शरिरमा फर्किने रगत नली (जुगुलर भेन) चोट लागेका लीलाई सुरुमा बुसानको अस्पतालमा लगिएको थियो भने पछि राजधानी सियोल लगिएको छ । दुई घण्टा लामो शल्यक्रियापछि अहिले उनको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

डेमोक्रयाटिक पार्टीका सांसद जङ चङ–रेले बुधबार पार्टीको बैठकमा भने, “बुसानका स्वास्थ्यकर्मीले आक्रमणकारीको चक्कुले लीको मष्तिस्कमा जाने नशा (क्यारोटिड आर्टिलरी) मा लाग्नबाट जोगिएको र उहाँलाई अस्पतालसम्म पु¥याउन सकिएको हो । क्यारोटिड आर्टिलरीमा लागेको भए उहाँको तत्काल घटनास्थलमै मृत्यु हुन सक्ने थियो ।”

“ली अहिले सघन उपचार कक्षमा उपचाररत हुनुहुन्छ तर अवस्था यति गम्भीर छ कि उहाँ पूर्व अवस्थामा पुग्न निकै कठिन छ,” उनले भने ।डेमोक्रयाटिक पार्टीका सदस्य तथा चिकित्सक काङ चियोङ हीले लीलाई ‘गम्भीर चोट’ लागेको बताएका छन् ।

योनहाप समाचार संस्थाका अनुसार प्रहरीले किम थर भएका ६६ वर्षीय संदिग्धको पक्राउका लागि पुर्जी जारी गरेको छ ।

योनहापका अनुसार जिल्ला अदालतले अनुसन्धानको क्रममा संदिग्धको घर र कार्यालयमा खानतलासी गर्न पक्राउ पूर्जी जारी गरेको छ र प्रहरीले आक्रमणको वास्तविक उद्देश्य पत्ता लगाउन ध्यान केन्द्रित गर्नेछ ।योनहापका अनुसार आक्रमणकारीले प्रहरीसँग उनको उद्देश्य लीको हत्या गर्नु रहेको बताएका छन् ।

सांसद जङले भने, “आक्रमणकारीले आफूले लीको हत्या गर्न खोजेको कुरा स्वीकारेको छन् ।”दक्षिण कोरियाली टेलिभिजन स्टेसनमा प्रसारित फुटेजमा प्रहरीले ली समर्थक नारा प्रदर्शन गर्ने संदिग्धलाई भुइँमा लडिरहेको देखिएको छ ।

योनहापका अनुसार संदिग्ध किम सियोलबाट करिब ११५ किलोमिटर दक्षिणमा रहेको दक्षिण चुङछियोङ प्रान्तमा रियल स्टेट एजेन्टका रूपमा काम गर्दै आएका थिए ।

बैंकबाट कार्यालयमा आएका सूचना र अन्य सामग्रीको हवाला दिँदै किमले आर्थिक कठिनाइको सामना गरिरहेको र सात महिनादेखि कार्यालयको मासिक भाडा तिर्न असमर्थ रहेको उल्लेख गरेका छन् ।

– गलत सूचना –

दक्षिण कोरियामा आगामी अप्रिल १० मा हुने महत्वपूर्ण निर्वाचनका लागि तयारी भइरहेको छ । निर्वाचनमा राष्ट्रपति युनको कन्जरभेटिभ पार्टीले सन् २०१६ पछि पहिलो पटक संसदीय बहुमत हासिल गर्ने लक्ष्य राखेको छ ।

विपक्षी डेमोक्रयाटिक पार्टीका लागि सन् २०२७ मा हुने अर्को राष्ट्रपतीय निर्वाचनको तयारीका लागि आम निर्वाचनमा विजय हासिल गर्नुलाई महत्वपूर्ण पूर्वशर्तका रूपमा हेरिएको छ ।

लीले अप्रिलमा हुने आम चुनावअघि आफ्नो दलको नेतापदबाट राजीनामा दिन आफ्नै पार्टीभित्रैबाट केही आह्वानको सामना गर्नुपरेको छ ।

लीमाथि भएको आक्रमणको बारेमा गलत सूचना अनलाइनमा फैलिरहेको थियो, केहीले सम्पूर्ण घटना मञ्चन गरिएको दाबी गरेका थिए । तर दाबीलाई खण्डन गर्दै सांसद जङले घटनाबारे ‘क्रूर र भ्रष्ट’ भनाइ आउनु दुःखद कुरा हो ।

‘नक्कली चक्कुले नक्कली रगत’ र ‘युट्युबरले षडयन्त्रको सिद्धान्त प्रस्तुत गर्छन्’ जस्ता हेडलाइनले मलाई प्रश्न गर्छ कि कोरियाली समाजमा कति क्रूर र भ्रष्ट व्यक्तिहरू हुन सकेका होलान् ।

विगतका वर्षहरूमा दक्षिण कोरियाका कैयौँ उच्च पदस्थ राजनीतिज्ञहरूमाथि सार्वजनिक रूपमा आक्रमण भएको छ ।

सन् २०२२ मा एक जना वृद्धले लीभन्दा पहिले डेमोक्रायाटिक पार्टीको नेतृत्व गरेका सोङ योङ–गिलको टाउकोमा धारिलो हतियारले हिर्काएका थिए ।

सन् २००६ मा कन्जरभेटिभ पार्टीका तत्कालीन नेता तथा पछि राष्ट्रपति बनेका पार्क ग्युन हेलाई एक ¥यालीमा चक्कुप्रहार गरिएको थियो । आक्रमणका कारण उहाँको अनुहारमा दाग चोट लागेको थियो । ली सन् २०२२ मा दक्षिण कोरियाको इतिहासकै सबैभन्दा कडा राष्ट्रपतीय निर्वाचनमा कन्जरभेटिभ युन सुक योलसँग पराजित भएका थिए ।

कारखानामा काम गर्ने पूर्व बाल श्रमिक रहेका लीले किशोरावस्थामा औद्योगिक दुर्घटनापछि विद्यालय जान छोडेका थिए । त्यपछि रानीतिमा आएका उनले छोटो समयमा प्रसिद्धि कमाउन सफल भएको देखिनछ ।

उनले सन् २०२७ मा पुनः राष्ट्रपतिपदका लागि उम्मेदवारी दिने अपेक्षा गरिएको छ र हालैका सर्वेक्षणहरूले उनी अझै पनि बलियो दाबेदार रहेको सङ्केत गरेका छन् ।

तर उत्तर कोरियामा अवैध रूपमा ८० लाख अमेरिकी डलर ट्रान्सफर गरेको आशङ्का गरिएको एक फर्मसँग सम्बन्धित घूसखोरीको अभियोगमा उनीविरुद्ध अझै पनि मुद्दा चलिरहेको छ ।

नेता लीसमेत सामेल भएको भनिएका विगतका विभिन्न काण्डमा संलग्न रहेका आरोपित सबैले आत्महत्या गरेको देखिन्छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot