Logo

भारतसँगको सम्बन्ध सुमधुर नबनाएसम्म नेपालले समृद्धिको यात्रा अघि बढाउन सक्दैन् : प्रभु साह (भिडिओसहित)



काठमाडौं, २० पुष । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको नेपाल भ्रमणलाई आफूले एकदमै सकारात्मक रुपमा हेरेको र जयशंकरको नेपाल भ्रमण नेपालको समृद्धिसँग जोडिएको स्पष्ट पारेका छन् । हिजो (बिहीबार) प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले भने-” भारतीय विदेशमन्त्री डा. जयशंकरजीको यो नेपाल भ्रमण नेपालको समृद्धिसँग जोडिएको छ । किनकी १० हजार मेगावाट विजुली नेपालले पहिलोपटक भारतलाई बेच्दैछ । आज नै विद्युत व्यापार सम्झौता कार्यान्वयनको दिन हो । यसले नेपालको समृद्धिको चाहनालाई सहयोग पुर्याउँछ भन्ने लाग्छ । यसको लागि हाम्रो देशका सम्माननीय प्रधानमन्त्री प्रचण्डज्युको पहल खास छ । भारतीय विदेशमन्त्री एस जयशंकरजीको पहलकदमी पनि सराहनीय छ ।”

साहले नेपाल र भारतबीचको सम्बन्ध सुमधुर नबनाएसम्म नेपालले समृद्धिको यात्रा अघि बढाउन नसक्ने पनि दाबी गरे । उनले अहिले भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणसँगै दुई देशबीचको सम्बन्धले नयाँ उचाई हाँसिल गरेको आफूले महशुस गरेको सुनाए । भारतसँगको नेपाल सम्बन्ध विशेष खालको रहेको साहको भनाई छ । दुई देशबीच बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्दै नेपालको विकास र समृद्धिको लागि भारतसँगको सम्बन्ध प्रगाढ हुन जरुरी रहेको पनि उनले आवश्यकत्ता औंल्याए ।

हिजोका दिनमा भारतसँग नेपालको सम्बन्ध विभिन्न उतारचढावका साथ गुज्रिएको भएपनि अहिलेको सरकारले भने भारतसँगको सम्बन्धलाई सही दिशामा ल्याएको पनि साहको दाबी छ । आफूले भारतसँगको नेपालको सम्बन्ध अझै प्रगाढ होस भनेर चाहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्