Logo

गाजामा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता प्रमुखको आह्वान



एजेन्सी । संयुक्त राष्ट्रसङ्घका मानवीय मामिलासम्बन्धी उपमहासचिव मार्टिन ग्रिफिथ्सले गाजामा जारी युद्ध अन्त्य गर्न आह्वान गरेका छन् । अक्टोबर ७ मा प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक समूह (हमास) ले इजरायलको दक्षिणी सिमानामा गरेको भयानक आक्रमणको तीन महिनासम्म पनि गाजा मृत्यु र निराशाको थलो बनेको उनले बताए ।

“हामी गाजाका जनता र यसका खतरामा परेका छिमेकीहरूका लागि मात्र होइन, तर भावी पुस्ताका लागि पनि युद्धको तत्काल अन्त्यको माग गर्दछौँ । युद्धले यी ९० दिनको कहालिलाग्दो हिंसा र मानवतासम्बन्धी सबैभन्दा आधारभूत नियमहरूमाथिको आक्रमणलाई कहिल्यै बिर्सने छैनन्,”– उनले भने ।

यो समय युद्धरत पक्षहरूले नागरिकहरूको सुरक्षा र आधारभूत आवश्यकताहरू पूरा गर्न र सबै बन्धकहरूलाई तुरुन्तै रिहा गर्ने अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्ना सबै दायित्वहरू पूरा गर्ने समय भएको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय समुदायले आफ्नो सम्पूर्ण प्रभाव प्रयोग गरेर युद्धरत पक्षलाई युद्धविराम गर्नका लागि दवाव दिने वेला आएको उनले बताए । युद्ध भएको करिब तीन महिना बितिसक्दा पनि गाजाको मानवीय अवस्था दयनीय छ । अधिकांश महिला र बालबालिकाहरूसहित करिब २३ हजार मानिस मारिएका छन्, दशौँ हजार व्यक्ति घाइते भएका छन् भने लाखौँ व्यक्ति यद्धका कारण विस्थापित र प्रभावित भएका छन् ।

तापक्रम घटेसँगै विस्थापित परिवारहरु खुला ठाउँमा सुतिरहेका छन् । सर्वसाधारणलाई आफ्नो सुरक्षाका लागि अन्यत्र सार्न भनिएको क्षेत्रमा बमबारी भएको छ । चिकित्सा संस्थाहरू निरन्तर आक्रमणमा परेका छन् । आंशिक रूपमा सञ्चालनमा रहेका केही अस्पतालहरू ट्रमाका बिरामीहरूले भरिएका छन्, सबै आपूर्तिहरूको गम्भीर अभाव छ, र सुरक्षाको खोजीमा मानिसहरूल हताश बनेका छन् । जनस्वास्थ्यमा विपत्ति आइपरेको छ । भीडभाड हुने आश्रयस्थलहरूमा ढलहरू बग्दै जाँदा सङ्क्रामक रोगहरू फैलिरहेका छन् । यो अस्तव्यस्तताका बीच दैनिक करिब १८० प्यालेस्टिनी महिलाले बच्चा जन्माइरहेका छन् ।

मानिसहरूले अहिलेसम्मकै उच्च स्तरको खाद्य असुरक्षाको सामना गरिरहेका छन् । भोकमरीको जोखिम नजिकिएको छ । विशेष गरी बच्चाहरूको लागि, विगत १२ हप्ताहरू निकै दर्दनाक बनेका छन् । उनीहरूका लागि कुनै खाना छैन । पानी छैन । विद्यालय छैन ।

“युद्धको डरलाग्दो आवाजबाहेक दिनदिनै अरू केही सुनिँदैन । त्यहाँका मानिसहरूले आफ्नो अस्तित्वका लागि दिनहुँ खतराहरू देखिरहेका छन् र संसारले हेरिरहेको छ,”– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot