Logo

मातृभाषाको समाचार सेवा र औचित्य



काठमाडौँ, २५ पुस । नेपालको संविधान २०७२ ले नेपाल, विविधायुक्त बहुजाति, बहुभाषिक, सांस्कृतिक र बहुधार्मिक देश हो भनेर परिभाषित गरेको छ । संविधानको यही मर्मअनुसार नेपालमा विभिन्न जातजातिको भाषा, संस्कृतिको संरक्षण विकास र उन्नयनमा काम हुँदै आएको छ ।

संविधानको मर्म र भावनालाई आमसात् गर्ने र त्यसलाई कार्यान्वयन गर्ने दायित्व राज्यका निकायहरुको हो । त्यसैले राष्ट्रिय समाचार समिति (रासस)ले पनि समावेशी चरित्र भएको नेपाली समाजलाई स्वीकार गर्नुपर्ने नैतिक दायित्व रहेको छ । यही कारण रासस स्थापना भएको ६३ वर्ष नयाँ सेवाका रुपमा मातृभाषाको समाचार सेवालाई शुभारम्भ गरेको छ । मातृभाषाको समाचार सेवामा राससले पहिलोपटक अवधी भाषालाई समेटेको छ ।

विसं २०१८ फागुन ७ गते स्थापना भएको रासस ६३औँ स्थापना दिवस मनाउने सँघारमा छ । देशमा पञ्चायती व्यवस्थाको अन्त्यपछि २०४६ को जनआन्दोलनबाट पुनःस्थापित प्रजातान्त्रिक व्यवस्थामा राससले थप उन्नति र विकास गर्ने अवसर पाएको हो । विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, १० वर्षको सशस्त्र द्वन्द्वपछि भएको बृहत् शान्ति सम्झौताले नेपालमा एउटा नयाँ राजनीतिक परिवर्तन ल्यायो ।

नेपालको अन्तरिम संविधान, २०६३ जारी भयो । यही संविधानकै जगमा उभिएर नेपालमा पहिलो संविधानसभाको निर्वाचन भयो भने नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लैजाने आधारशिला तयार गरेको हो । यही व्यवस्थाअनुसार राससले हालसम्म निरन्तर समाचार सेवा सञ्चालन गर्दै आएको छ ।

प्रारम्भमा राससले नेपाली भाषाबाट समाचार सेवा सुरुआत गरेको हो । सेवालाई विविधीकरण गर्ने क्रममा २०२० फागुन १८ देखि अङ्ग्रेजीमा समाचार बुलेटिन प्रकाशन गर्न थाल्यो । यसबीचमा अन्तर्राष्ट्रिय समाचार, आलेख, तस्बिर, अडियो, भिडियो सेवा सञ्चालन गरे पनि यी सबै नेपाली र अङ्ग्रेजी भाषामा मात्रै थियो । राज्यद्वारा सञ्चालन भएका गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनले धेरै वर्ष अगाडिदेखि नेपाली, अङ्ग्रेजी भाषासँगै मातृभाषामा समाचार प्रकाशन÷प्रसारण र विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

तर राससले नेपाली र अङ्ग्रेजी भाषाबाहेक अन्य भाषामा समाचार सेवा सञ्चालन गर्न नसकेको तीतो यथार्थ रहेको छ । यही तथ्यलाई मध्यनजर गर्दै राससको वर्तमान व्यवस्थापनले मातृभाषाका समाचार सेवा सञ्चालन गर्ने निर्णय ग¥यो । यही निर्णयलाई कार्यान्वयन गर्न पटकपटक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका मन्त्री, सचिव, सहसचिवहरुसँग औपचारिक र अनौपचारिक छलफल भएका छन् । आर्थिक र नैतिक सहयोगको अपेक्षासहित भएका ती छलफलमा मन्त्रालयबाट सहयोग हुने प्रतिबद्धता प्राप्त भएको छ र आवश्यक प्रक्रिया अगाडि बढेको छ ।

मन्त्रालयबाट आउने सहयोग प्रक्रियगत कारणले केही ढिलो हुने अवस्था भएपछि रासस व्यवस्थापनले मातृभाषाका समाचार सेवा सञ्चालनका लागि थप स्रोत पहिचान गरी प्रदेश सरकार र स्थानीय सरकारसँग छलफल अगाडि बढायो । यही सिलसिलामा सबैभन्दा पहिले नेपालगञ्ज उपमहानगरपालिकाले सहकार्य गर्न अग्रसरता देखायो ।

आवश्यक प्रक्रिया पूरा गरी यही पुस ८ गते अवधी भाषाको समाचार सेवा सञ्चालन गर्न रासस र नेपालगञ्ज उपमहानगरपालिकाबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । यही सहमतिअनुसार मातृभाषा समाचार सेवा शुभारम्भ भएको छ । यो कार्यले राससमा एउटा नयाँ इतिहास लेखिएको छ । यो अवसर दिने नेपालगञ्ज उपमहानगरपालिका परिवारलाई अवधी भाषिक समुदायले सधैँ स्मरण गर्नेछन् । भाषिक समुदायप्रति जिम्मेवार बनेको उपमहानगरपालिका परिवार साँच्चिकै धन्यवादयोग्य छ ।

राससले मातृभाषामा आफ्नो सेवा विस्तार गर्दा संविधानमा भएको सङ्घीयता र समावेशीको मर्मलाई समेत आत्मसात् गरेको ठहरिन्छ । अब अन्य मातृभाषाको समाचार सेवाका लागि वीरगञ्ज महानगरपालिका, काठमाडौँ महानगरपालिका, मधेस प्रदेश र बागमती प्रदेश सरकारसँग छलफल अगाडि बढेको छ । यसै आर्थिक वर्षभित्र केही थप भाषामा समाचार सेवा दिने सम्भावना रहेको छ । यसले राससको इतिहासमा थप इँटा थपिने छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा एक सय ४२ जातजाति, एक सय २४ मातृभाषा र १० धर्म रहेका छन् । यी मातृभाषामध्ये एक प्रतिशतभन्दा बढीले बोल्ने भाषा १३ वटा रहेका छन् । मध्यपश्चिम तराईमा बोलिने अवधी भाषा २।९६ प्रतिशत जनसङ्ख्याले बोल्ने गरेको तथ्याङ्क राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ । यी तथ्यले नेपाल अल्पसङ्ख्यक समुदायको देश हो भन्ने बुझ्न सकिन्छ । त्यसकारण सबै जाति, समुदाय, भाषाको उन्नति, विकास र संरक्षण गर्ने दायित्व राज्यको हो ।

मातृभाषामा गरिने पत्रकारिता वा सञ्चार कर्म नै मातृभाषा पत्रकारिता हो । नेपालमा राज्यद्वारा सञ्चालित सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित मिडियाले मातृभाषाको पत्रकारिता गरिरहेका छन् । मातृभाषाको विकास र जगेर्न गर्न यिनै मिडियामा काम गर्ने पत्रकार । सञ्चारकर्मीको प्रयास प्रशंसायोग्य रहेको छ । देशभरि खुलेका अधिकांश रेडियो र टेलिभिजनले मातृभाषामा समाचार र कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।

मातृभाषामा पत्रपत्रिकाहरु समेत प्रकाशित भइरहेका छन् । ती मिडियालाई समाचार सामग्रीको अभाव भएको हामीले प्रत्यक्ष देखेका छौँ र अनुभूति गरेका छौँ । त्यस्ता मिडिया सञ्चालन गर्न र नेपालमा मातृभाषाको पत्रकारितालाई टेवा दिन राससको मातृभाषाको समाचार सेवाले सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।

राससले मातृभाषामा समाचार सम्प्रेषण गरेपछि सम्बद्ध भाषामा प्रकाशन हुने पत्रिका, रेडियो, टेलिभिजन, अनलाइन र अन्य समाचार संस्थालाई सहयोग पुग्न सक्नेछ । मातृभाषामा समाचार सेवा सञ्चालन गरेपछि जनताको तहसम्म सूचना प्रवाहलाई प्रभावकारी बनाउन सकिनेछ । समाचार सेवाले सम्बद्ध भाषाको संरक्षण र विकासमा प्रभावकारी भूमिका निर्वाह गर्नेछ ।

नेपालमा पछिल्लो दिनमा मातृभाषामा सञ्चालन हुने सञ्चारमाध्यमले जनशक्ति र आर्थिक स्रोतको अभावमा सम्बद्ध भाषामा आवश्यक कन्टेन्ट ९प्रकाशन–प्रसारण सामग्री० प्राप्त गर्न नसक्दा ठूलो समस्या भोगिरहेका छन् । फलतः ती सञ्चारमाध्यम कि त अत्यन्त समस्यामा छन् र बन्द हुने अवस्थामा छन् कि त बन्द भइसकेका छन् । राससले सम्बद्ध भाषामै सामग्री उपलब्ध गराउन सकेका खण्डमा सम्बन्धत भाषी सञ्चारमाध्यमले भोग्ने यस्ता समस्यालाई केही हदसम्म अन्त्य गर्न सहयोग पुग्नेछ ।

राससले मातृभाषामा आफ्नो सेवा विस्तार गर्दा संविधानको सङ्घीयता र समावेशीको मर्मलाई समेत आत्मसात् गरेको ठहरिन्छ । सङ्घीयता र समावेशिता कार्यान्वयन गर्नु राज्यको दायित्व हो । त्यसैले र राससले प्रारम्भ गरेको मातृभाषा समाचार सेवालाई राज्य सञ्चालन गरिरहेको सरकारकै कार्यक्रमका रुपमा लिइनुपर्छ ।

आज नयाँ प्रविधिले पत्रकारिता गरिरहेका पत्रकार र संस्थालाई चुनौती दिइरहेको अवस्था छ । पत्रकारिता नयाँ स्वरुपमा अगाडि बढिरहेको २१औँ शताब्दीमा राससले पनि नवीनतम् सोचका साथ काम गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको छ ।

विश्वस्तरीय समाचार एजेन्सीका रुपमा विकसित गरी विश्वका अन्य समाचार एजेन्सीसँगको प्रतिस्पर्धाका लागि तयार रहनु राससका लागि अपरिहार्य छ । त्यसैले राससलाई यथास्थितिबाट अगाडि बढाउनुको विकल्प छैन । राससलाई अगाडि बढाउने कार्यमा मातृभाषाको समाचार सेवाले नयाँ आयम थपेको छभन्दा फरक पर्दैन ।

राससले मातृभाषामा समाचार सेवा प्रारम्भ गर्नुको देशको जातीय र भाषिक विविधतासँगै मिडिया बहुलवादबाट स्वीकारसमेत गरेको छ । मिडियाको विषय र सन्दर्भ मात्रै विविधता छ भन्ने बुझाइलाई फराकिलो बनाउने क्रममा अब मिडियाको भाषामा पनि विविधता छ भनेर हामीले स्वीकार गरेका हौँ । राससको यो सानो कार्यले भाषा नबुझ्ने भाषिक समुदायलाई आफ्नै सूचना प्राप्त गर्ने अधिकारको सुनिश्चित पनि गरेको हो । यस्तै जनताले आफ्नै भाषामा सूचना प्राप्त गरी विचार निर्माण गर्न पाउने र अभिव्यक्ति गर्ने अवसरका रुपमा पनि यस सेवालाई लिन सकिन्छ ।

मातृभाषामा समाचार सेवा सञ्चालन गर्दा सूचना प्रवाहलाई प्रभावकारी बनाउन सकिने र भाषाको संरक्षण र विकासमा प्रभावकारी भूमिका रहनेछ । मातृभाषामा सञ्चालित सञ्चारमाध्यम समाचार सामग्रीको अभावमा सङ्कटग्रस्त बन्न पुगेका बेला राससद्वारा सञ्चालित मातृभाषाका समाचार सेवाबाट त्यस्ता सञ्चारमाध्यम लाभान्वित हुने विश्वास छ ।

मातृभाषाको संवद्र्धन, संरक्षण र विकासमा पनि राससको उक्त सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने नै छ । सबै प्रदेशको एउटा भाषाको प्रतिनिधित्व हुने गरी मातृभाषाको समाचार सेवा सञ्चालन गर्ने योजनामा रासस अगाडि बढेको छ । यसमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहयोग हुनेछ भन्ने अपेक्षा गरेका छौँ । (लेखक राससका महाप्रबन्धक हुन् )



प्रतिक्रिया दिनुहोस्