Logo

राष्ट्रिय सभा निर्वाचन: सुदूरपश्चिममा कांग्रेस उमेदवार भट्टको उमेदवारी कायम



काठमाडौं,२६ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसबाट अपांगता भएका व्यक्तिको समूहमा उमेदवारी दिएका नारायणदत्त भट्टको उमेदवारी कायम भएको छ ।

भट्टविरुद्ध नेकपा एमालेका उमेदवार रामचन्द्र जोशीले अपांगतासम्बन्धी प्रमाण नपुगेको भन्दै उजुरी दिएका थिए । जोशीले उमेदवारी खारेजीको माग गरेका थिए । तर, भट्टको योग्यता पुगेकाले उमेदवारी कायम भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुदूरपश्चिममा तीन पदका लागि ६ उमेदवार छन् । उनीहरूको नामावली निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गरिएको छ । त्यस्तै, कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका दलित समूहका उमेदवार विष्णु विकविरुद्ध उजुरी पनि खारेज भएको छ ।

एमालेकै उमेदवार हिक्मत विकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका थिए । निर्वाचन अधिकृतको कार्यालयले उनको उमेदवारी कायम रहेको जानकारी दिएको छ ।

राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि आगामी माघ ११ गते चुनाव हुँदैछ । १९ पदका लागि ५२ जना उम्मेदवार मैदानमा उत्रिएका छ्न ।



प्रतिक्रिया दिनुहोस्

Screenshot