टोकियो, ८ माघ । सोनी टेलिभिजनले जी इन्टरटेनमेन्टसँग १० अर्ब अमेरिकी डलरमा समायोजनका लागि सन् २०२१ मा गरेको सम्झौताबाट बाहिरिएको सोमबार जानकारी गराएको छ ।
डिज्नी, अमेजन र नेटफ्लिक्सजस्ता स्ट्रिमिङ प्रतिद्वन्द्वीहरूसँग १.४ अर्ब मानिसहरूको बढ्दो मनोरञ्जन बजारमा राम्रो प्रतिस्पर्धा गर्ने दुबै फर्महरूको आशामा यो गिरावटले धक्का दिएको छ ।
जापानी कम्पनी सोनीले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, “दुई कम्पनीबीच भएको आंशिक समायोजन सम्झौता खारेज गरिएको छ । सम्झौताको अन्तिम शर्तहरूमा दुई कम्पनीबीच सहमति हुन नसक्दा सम्झौताबाट बाहिरिनुपरेको हो ।”
सन् २०२१ मा जीका प्रमुख कार्यकारी पुनीत गोयन्काले नयाँ सङ्गठनको मूल्य १० अर्ब अमेरिकी डलरको हाराहारीमा हुने र वार्षिक आम्दानी दुई अर्ब डलर पुग्ने बताएका थिए ।
यसबाहेक, सोनीले सन् २०२१ देखि जीमा नाफा घट्ने चिन्ता व्यक्त गरेको जापानी कम्पनीका एक स्रोतले नाम नबताउने शर्तमा गत हप्ता एएफपीलाई बताएको छ ।
अर्बौं डलरको मूल्यको भारतको मनोरञ्जन बजार पहिले नै विश्वको सबैभन्दा ठूलो बजारमध्ये एक हो, जबकि आगामी वर्षहरूमा स्मार्टफोनको अपनत्व अझ विस्तार हुने अनुमान गरिएको छ ।
ब्लुमबर्ग न्यूजका अनुसार रिलायन्स (आरआईएल) ले डिज्नीको भारतीय इकाईसँग मर्जरका लागि वार्ता गरिरहेको बेला सोनी र जीबीच भएको सम्झौताले सोनी र जीलाई थप जोखिममा पार्नेछ ।
रिलायन्स भारत र एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको स्वामित्वमा छ । एम्बिट क्यापिटलका सञ्चार विश्लेषक विवेकानन्द सुब्बारमणका अनुसार जीले अब ‘ड्रइङ बोर्डमा फर्कनु पर्नेछ’ र उनीसँग पुँजीको अभाव हुनेछ । सोनीले मर्जरमा १.३ अर्ब डलर लगानी गर्न लागेको थियो । रासस