Logo

आधारभूत अस्पताललाई १५ शय्यामा स्तरोन्नति



गुल्मी, १५ माघ । धुर्कोट गाउँपालिका–६ अन्तर्गत रजस्थलमा रहेको धुर्कोट आधारभूत अस्पताललाई १५ शय्यामा स्तरोन्नति गरिएको छ । गाउँपालिकाले आन्तरिकरुपमा जनशक्ति व्यवस्थापन गरी अस्पताललाई स्तरोन्नति गरेको हो ।

अस्पताल १५ शय्यामा स्तरोन्नति भएसँगै बिरामीलाई भर्ना गरेर २४सै घन्टा सेवा प्रदान गर्न सकिने र आकस्मिक बिरामीलाई सहज हुने गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले बताए । अस्पतालको स्तरोन्नति भएसँगै अन्तरङ्ग सेवा थप गरिने अस्पतालले जनाएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले एक कार्यक्रमकाबीच १५ शय्याको अस्पतालको सेवा सुभारम्भ गरेका हुन् । सेवा शुभारम्भ गर्दै प्रदेश सरकारले सबै जिल्लाका पालिकामा १५ शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने उनले बताए ।

अस्पताल स्तरोन्नति भएसँगै चार कर्मचारी थप गर्नुपर्ने भए पनि हाललाई उक्त जनशक्ति पालिकाले आन्तरिकरुपमा व्यवस्थापन गरेको छ । सो अस्पतालमा धुर्कोट गाउँपालिकाका साथै मदाने र मालिका गाउँपालिकाका नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् । अस्पतालबाट हाल प्रसुति सेवा, ल्याब, ओपिडीलगायत आधारभूत सेवा प्रवाह भइरहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्