Logo

पहिलाको व्यापारिक केन्द्र त्रिवेणी सुनसान



त्रिवेणी (नवलपरासी), १५ माघ । तीसको दशक उत्तराद्र्धसम्म व्यापारिक केन्द्रका रूपमा स्थापित त्रिवेणी हिजोआज सुनसान छ । त्रिवेणीघाट नजिकको त्रिवेणी बजारमा चहलपहल घट्दो छ । केही धार्मिक सामग्रीका पसल र खाजाघर छन् । व्यापारिक केन्द्रको साख गुमाएको त्रिवेणीले धार्मिक क्षेत्रको पहिचान भने कायम राखेकाले हिजोआज धार्मिक यात्रामा निस्कनेहरू केहीमात्रामा भेटिन्छन् ।

“तीसको दशकको अन्त्यसम्ममा त्रिवेणीमा खुब चहलपहल थियो, यो राजमार्गमा जस्तो चहलपहल थियो, त्यस्तै नारायणी नदीमा डुङ्गा ओहोरदोहोर गर्थे, बजार ठूलो थियो, अहिले सबै जिरोजस्तो भयो”, त्रिवेणीका सन्तोष पुनले भने, “त्रिवेणी कुनामा रहे पनि त्योबेला धेरै चहलपहल हुन्थ्यो । पहिला त्रिवेणीमा बजार थियो र पारी भारत सुनसान थियो तर हिजोआज ठिक उल्टो भएको छ ।” ऊबेला त्रिवेणीमा पहाडी भेगबाट सामान किनबेचका लागि मानिसहरू आउने गरेको उनले जानकारी दिए ।

नारायणघाटदेखि त्रिवेणीसम्म पहिला डुङ्गामा सामान ओसारपसार गरेका डुङ्गा चालक रामवृष सहानीका अनुसार तोरी, मकै, सुठो, सुन्तला, धान, मुसुरो, अमिलो, फापरलगायत सामग्री त्रिवेणी हुँदै भारततर्फ जाने गर्दथ्यो । त्रिवेणीमा ठूलाठूला व्यापारी बस्थे । कपडा, फलाम, रासनका गल्ला थिए । नारायणघाट, गोलाघाट, सिख्रौलीघाट, पितौजीघाट, पिठौलीघाट, अमलटारीघाटलगायत स्थानमा डुङ्गा रोकिन्थे । वरपरबाट व्यापारीले ल्याएका सामान डुङ्गामा सङ्कलन गर्दै तीन÷चार दिनमा त्रिवेणी आइन्थ्यो ।

राजमार्ग बनेपछि र नारायणीमा विसं २०३८ मा पुल बनेपछि क्रमशः तीसको दशक अन्त्य र चालिसको दशक प्रारम्भ हुँदै गर्दा त्रिवेणीमा चहलपहल घट्दै गएको चालक शहानीले बताए । राजमार्ग बनेपछि यहाँ कुनै बाटोले जोडिएन, व्यापारी कोही बुटवल, भैरहवा, कोही काठमाडौँ फर्किए, अहिले पनि यो ठाउँ सुनसानजस्तो छ ।

त्रिवेणीका ८७ वर्षीय भैरवप्रसाद शर्माका अनुसार चितवन, नवलपुरसहित पहाडतर्फका सामान त्रिवेणीमा ल्याएर भारत र नेपालको पश्चिमतर्फ पठाउने गरिन्थ्यो । भारतमा नहर नबन्दा त्यहाँ उब्जाउ केही नहुने भएकाले त्रिवेणी हुँदै धेरै रासन उता पठाउने गरिन्थ्यो ।

“भारतमा नहर नबन्दासम्म खराब स्थिति थियो, भोकमरी हुन्थ्यो, गल्ला हुन्थेनन्, जब नहर बनेर यहाँबाट नारायणीको पानी लगेपछि त्यहाँ खेतीपाती हुन थाल्यो । पछि त महेन्द्र राजमार्ग बन्यो, यताबाट सामान जान छाड्यो, अहिले त झन् उताबाट ल्याएर यहाँ खानुपर्ने अवस्था बन्यो, त्रिवेणी सुनसान हुँदै गयो”, उनले भने, “त्रिवेणीमा आएका सामान गोरुगाडामार्फत नेपालको पश्चिमतर्फ पठाउने गरिन्थ्यो ।

त्रिवेणीमा डुङ्गा घाटको ठेक्का लिनुभएका शर्माका अनुसार राजमार्ग खोलेपछि त्रिवेणीलाई जोड्ने छोटो बाटो नबन्दा व्यापारी यहाँबाट पलायन भएका हुन् । पूर्व–पश्चिम राजमार्ग बन्यो, उता ट्रक बस चल्न थाले, यता कुनै बाटोले जोडिएन, डुङ्गाहरू चल्न छाडे, विस्तारै यहाँको रमझम हराउँदै गयो । पहिला जुन रस थियो, त्यो फर्किन सकेको छैन, ऊबेला झुपडी थिए अहिले ठूला ठूला घर बने फरक त्यति हो ।

त्रिवेणीभन्दा पछि परेका हिजोको ठाउँ अहिले धेरै विकास भए पनि त्रिवेणी पछि पर्दै गएको छ । पहिल नै सहजरुपमा राजमार्गसँग जोड्न सकेको भए त्रिवेणी, व्यापारिक केन्द्रकैरुपमा आज पनि रहन्थ्यो होला तर आज गुमनाम भएको छ ।

त्रिवेणीले ऊ बेला भोगेको नियति आज पनि कायमै रहेको विनयी त्रिवेणी गाउँपालिका–६, का वडाध्यक्ष नुरेन्द्र शाहको गुनासो थियो । अहिले गण्डकी प्रदेशमा राखिएको त्रिवेणीलाई जिल्ला पुग्न सकस हुनाका साथै छोटोरुपमा राजमार्गसँग जोड्ने दुम्कीबास–त्रिवेणी सडक नखोल्दासम्म त्रिवेणी पछाडि परिरहने उनले बताए ।

चालिस वर्षअघि त्रिवेणीमा चलहपहल हुँदा सिमानामा रहेको भारतीय टङ्की बजारमा केही नहुने गरेकामा अहिले त्यहाँको बजार बढेर गएको र त्रिवेणीको बजार खुम्चिँदै जानाका साथै गण्डकी प्रदेशलाई भारतसँग जोड्ने त्रिवेणी नाकासमेत सुनसानजस्तै हुने गरेको अध्यक्ष शाहले बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot