Logo

रोहिङ्ग्या शरणार्थीको अर्को डुङ्गा इन्डोनेसियामा अवतरण



बन्दा आचेह (इन्डोनेसिया), १८ माघ । एक सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी बोकेको एउटा डुङ्गा बिहीबार इन्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्तमा अवतरण भएको संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले बताएका छन् । यो सन् २०१५ पछि मुस्लिम बहुल मुलुक इन्डोनेसियामा सबैभन्दा बढी आगमनको हिस्सा हो ।

अधिकांश मुस्लिम रोहिङ्ग्याले म्यान्मामा ठूलो उत्पीडनको सामना गर्नुपरेको छ र प्रत्येक वर्ष हजारौँ मानिस मलेसिया वा इन्डोनेसियासम्म पुग्ने प्रयासमा प्राय कमजोर डुङ्गामा आफ्नो ज्यान जोखिममा राखेर लामो र महँगो सामुद्रिक यात्रा गर्छन् ।

राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका सुरक्षा सहयोगी फैसल रहमानले बिहीबार बिहान पूर्वी आचेहमा कुआला पारेक गाउँको किनारमा डुङ्गा अवतरण भएको पुष्टि गरे । उनले शरणार्थीहरूको यकिन सङ्ख्या ‘अझै पुष्टि हुन बाँकी रहेको’ तर स्थानीय अधिकारीहरूले एक सय ३७ शरणार्थी आएको अनुमान गरेको बताए ।

राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका अनुसार नोभेम्बरको मध्यदेखि जनवरीको अन्त्यसम्म अधिकांश महिला तथा बालबालिकासहित एक हजार सात सय ५२ शरणार्थी इन्डोनेसियाको आचेह र उत्तरी सुमात्रा प्रान्तमा पुगेका छन् ।

अति रूढिवादी इन्डोनेसियाली क्षेत्रहरूमा अल्पसङ्ख्यक समूहप्रतिको भावनामा परिवर्तनका कारण केही डुङ्गालाई समुद्रमा फिर्ता पठाइएको छ । आफैँमा दशकौँको रक्तपातपूर्ण द्वन्द्वको सम्झनामा रहेका धेरै आचेनीहरू आफ्ना मुसलमान साथीहरूको दुर्दशाप्रति सहानुभूति राख्छन् ।

यद्यपि अरुले भने आफूहरूको धैर्यको परीक्षा भइसकेको बताएका छन् । रोहिङ्ग्याहरूले दुर्लभ स्रोतहरूको उपभोग गर्ने र कहिलेकाहीँ स्थानीय बासिन्दाहरूसँग झगडा गर्ने उनीहरूले दावी गरेका छन् । डिसेम्बरमा आचेह विश्वविद्यालयमा सयौँ विद्यार्थीले एक सयभन्दा बढी रोहिङ्ग्या शरणार्थीका लागि अस्थायी आश्रयस्थलमा आक्रमण गरी उनीहरूलाई स्थानान्तरण गर्न बाध्य पारेका थिए ।

इन्डोनेसिया संयुक्त राष्ट्रसङ्घीय शरणार्थी महासन्धिको हस्ताक्षरकर्ता होइन र उसले आफूलाई म्यान्माबाट शरणार्थीहरू लिनका लागि बाध्य बनाउन नसकिने बताएको छ ।

राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका अनुसार तीन हजार पाँच सयभन्दा धेरै रोहिङ्ग्याले सन् २०२२ मा दक्षिणपूर्वी एसियाली मुलुकहरूमा जोखिमपूर्ण यात्राको प्रयास गरेको विश्वास गरिन्छ । खतरनाक सामुद्रिक यात्रा पार गर्ने प्रयास गर्दा सो वर्षको प्रारम्भदेखि करिब एक हजार रोहिङ्ग्या मारिएको वा बेपत्ता भएको अनुमान गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot