Logo

सुनसरीमा महिला हिंसाको घटना बढ्दो



इनरुवा, २१ माघ । सुनसरीमा महिला हिंसाको घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार महिला हिंसाको घटना बढ्दो क्रममा रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । जिल्लामा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५४ वटा जबरर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएको उनको भनाइ थियो ।

आर्थिक वर्ष २०७८/७९ मा जबर्जस्ती करणीसम्बन्धी एक सय वटा मुद्दा दर्ता भएकामा २०७९/८० मा १०६ वटा मुद्दा दर्ता भएको थियो । जबर्जस्ती करणी उद्योगमा आव २०७८/७९ मा ३० वटा र ०७९/८० मा १६ वटा मुद्दा दर्ता भएको थियो भने चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा आठ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

मानव बेचबिखन शिर्षकमा आव २०७८/७९ मा आठ वटा र ०७९/८० मा एउटा मुद्दा दर्ता भएको थियो भने चालु आवको पुससम्ममा एउटा मात्र मुद्दा दर्ता भएको छ । त्यसैगरी अपहरण तथा शरीर बन्धक शीर्षकमा आव २०७८/७९ मा चार वटा र ०७९/८० मा दुई वटा मुद्दा दर्ता भएको थियो भने चालु आवको पुस सम्ममा दुई वटा मात्र मुद्दा दर्ता भएको छ ।

त्यसैगरी ‘बाल बिज्याँई’ शीर्षकमा आव २०७८/७९ मा एउटा र ०७९/८० मा एउटा मुद्दा दर्ता भएकामा चालु आवकोे पुसमहिनासम्म एउटा पनि मुद्दा दर्ता नभएको प्रहरीले जनएको छ । त्यसैगरी बोक्सीको अरोपमा आव २०७९/८० मा एउटा र चालु आवको पुससम्ममा एउटा मुद्दा दर्ता भएको थियो ।

बालयौन दुरुपयोग शीर्षकमा आव २०७८/७९ मा १५ वटा र ०७९/८० मा १४ वटा मुद्दा दर्ता भएकामा चालु आवको गत पुस सम्ममा पाँच वटामात्र मुद्दा दर्ता भएको थियो । त्यसैगरी बहुविवाह शीर्षकमा आव २०७८/७९ मा ३६ वटा र ०७९/८० मा २६ वटा मुद्दा दर्ता भएको थियो भने चालु आवको पुससम्ममा १९ वटा मात्र मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।

समाजमा महिलाका लागि आधारभूत तथा उच्च शिक्षामा कम लगानी, विविधताको पहिचान र सम्मान नहुनु, तेस्रो लिङ्गिको सवाल, फितलो समावेशीताको नीति, लैङ्गिक असमानता, विद्यमान नीति कार्यान्वयनमा ढिलाइ, बढ्दो परनिर्भरता, बेरोजगारी, कुसंस्कार, सामाजिक सञ्जालको दुरुपयोग, लक्षित वर्गको पहुँच पुग्न नसक्नु र सहभागितामा कमीले महिला हिंसाको घट्ना बढ्दो क्रममा रहेको प्रहरी उपरीक्षक विपीन रेग्मीले जानकारी दिए ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot