Logo

नेपाली उद्योगबाट विदेशी कामदार हटाउन प्रभु साहको माग



काठमाडौं, ५ फागुन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालका उद्योगबाट विदेशी कामदारहरुलाई हटाउनुपर्ने माग गरेका छन् । आज (शनिबरा) काठमाडौंमा आयोजित पार्टीनिकट आम ट्रेड युनियन फेडरेशनको प्रथम ऐतिहासिक राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो माग गरेका हुन् ।

उनले सरकारले आफ्ना दक्ष युवा जनशक्तिलाई विदेशमा बेचिरहेको भन्दै नेपालका उद्योगमा विदेशी कामदारलाई हटाएर स्वदेशी कामदारलाई रोजगारमा स्थापित गर्न माग गरे । सो अवसरमा साहले विदेशमा रहेका नेपाली कामदारलाई सुरक्षित बनाउन वैदेशिक रोजगार ऐन संशोधन जरुरी रहेको औंल्याए । उनले विदेशमा नेपाली कामदार लुटिँदा नेपालका ट्रेड युनियनका ठेकेदारहरुले के हेरेर बसेका छन् ? भनेर प्रश्नसमेत गरे ।

साहले नेपालबाट लाखौंको संख्यामा युवाहरु श्रम बेच्न विदेशी भूमिमा जानुपर्ने बाध्यता अहिलेको लुटकारी दलतन्त्रले गराएको भन्दै यसको अन्त्य अपरिहार्य आवश्यकत्ता भएको औंल्याए । साहले देशको राजनीति ठूला भनिने दलका मुठ्ठीभर नेताको कब्जामा परेको हुँदा आज देशको अवस्था दिनप्रतिदिन बिग्रिँदै गएको टिप्पणी गरे ।

उनले देश अहिले संकटको डिलमा पुगिसकेको भन्दै अहिलेको दलतन्त्रको विकल्प दिनको लागि आफूहरु राजनीतिक मैदानमा खडा भएको उद्घोष गरे ।

आजको भेलालले शिव थापाको नेतृत्वमा फेडरेशनको १०१ सदस्यीय कार्यसमिति पनि घोषणा गरेको छ । साहले नयाँ कार्यसमितिलाई देश र जनताको हितमा केन्द्रित भएर आफ्ना कदम दृढताका साथ चाल्नको लागि आग्रह गर्दै सफल कार्यकालको लागि शुभकामना पनि व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्