Logo

न्याय माग्दै आरती साहको परिवारले भेटे प्रधानमन्त्री



काठमाडौं, फागुन ८ । धनुषामा मृत अवस्थामा फेला परेकी आरती साहको परिवारले न्याय माग्दै प्रधानमन्त्रीसँग भेट गरेको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह नेतृत्वमा बालुवाटर पुगेका पीडित परिवारले आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आरतीका परिवारले न्यायका लागि गरिरहेको संघर्षबारे आफू जानकार रहेको बताउँदै पीडित परिवारलाई न्यायका लागि पहल गर्ने आश्वासन दिएका छन्।

आरतीका लागि न्याय माग्दै उनका बुबा विनोदप्रसाद साह, दाजु प्रेम साह लगायत बालुवाटार पुगेका हुन् । गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापाचोकमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी आरतीका माइतीपक्षले त्यसलाई आत्महत्या नभई दाइजोको निहुँमा हत्या भएको भन्दै गत असार १ गतेदेखि निरन्तर काठमाडौंमा धर्नामा बस्दै आएको छ।

पीडित परिवारले आरती साहको हत्यामा उनका सासु, ससुरा, श्रीमान् र देवरको संलग्नता रहेको दाबी गर्दै आएको छ । प्रहरीले मृतक आरतीका श्रीमानलाई मात्रै पक्राउ गरेको भन्दै चारै जनालाई पक्राउ गरेर अनुसन्धान थाल्नुपर्ने पीडित परिवारको माग छ।



प्रतिक्रिया दिनुहोस्