Logo

गाजामा तत्काल युद्धविरामको आह्वान गर्न नयाँ मस्यौदा प्रस्तावमा मतदान हुँदै



संयुक्त राष्ट्संघ, ८ फागुन । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले मङ्गलबार गाजामा तत्काल युद्धविरामको आह्वान गर्न नयाँ मस्यौदा प्रस्तावमा मतदान गर्दैछ । यस सन्दर्भमा तेस्रो अमेरिकी भिटोको खतरा हुँदाहुँदै पनि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले मानवीयता रक्षाका लागि यो प्रक्रिया गरिरहेको दावी गरिरहेको छ ।

अल्जेरियाले तयार गरेको दस्तावेजमा तत्काल मानवीय युद्धविरामको माग गरिएको छ । इजरायलले दक्षिणी गाजा पट्टीको शहर राफाहमा सर्ने तयारी गरिरहेको बेला मतदान भएको छ । आक्रमण रोक्नका लागि चौतर्फी दबाब बढिरहेको छ ।

मस्यौदा प्रस्तावले प्यालेस्टिनी नागरिकको कारुणिक विस्थापन तथा गैरमानवीय कार्यको विरोध गर्दै सबै हमास बन्धकहरूको रिहाइको माग पनि गरिरहेको छ । संयुक्त राज्य अमेरिका र इजरायलले अस्वीकार गरेका अन्य अघिल्लो प्रस्ताव जस्तै नयाँ प्रस्तावले भने हमासको अक्टोबर ७ मा गरिएको आक्रमणको निन्दा गर्दैन ।

एएफपी टोलीका अनुसार आक्रमणले दक्षिणी इजरायलमा लगभग १ हजार एक सय ६० जनाको ज्यान लिएको छ । जसमा अधिकांश निहत्था नागरिक रहेका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार इजरायलको जवाफी अभियानमा महिला तथा बालबालिका सहित गाजामा २९ हजार भन्दा बढी मानिस मारिएका छन् ।

संयुक्त राज्य अमेरिकाले अल्जेरियाको प्रस्ताव स्वीकार्य नभएको चेतावनी दिँदै यसलाई भिटो प्रयोग गर्ने धम्की दिएको छ । परिषद्को कार्यले परिस्थितिजन्य मद्दत गर्ने विषयमा विश्वास नगर्ने संयुक्त राष्ट्रसंघका लागि अमेरिकी उप राजदूत रोबर्ट वुडले सोमबार बताएका छन् । उनले प्रस्ताव मतदानमा आएमा अगाडि नबढ्ने उल्लेख गरे ।

वुडका अनुसार युद्धविराम प्रस्ताव पारित भएपछि जारी नाजुक कूटनीतिक वार्ताले गाजाबाट बन्धकहरूको रिहाइ प्रक्रियालाई खतरामा पार्नेछ । संयुक्त राज्य अमेरिकाले यसको सट्टा वैकल्पिक मस्यौदा प्रस्तुत गर्ने एएफपीले सोमबार उल्लेख गरेको छ।

यद्यपि उक्त प्रस्तावमा समावेश गरिएको युद्धविराम शब्दको संयुक्त राज्य अमेरिकाले पहिले बेवास्ता गर्दै अक्टोबर – डिसेम्बरमा दुई ड्राफ्टहरू माथि भिटो प्रयोग गरेको थियो । अमेरिकाको उक्त कदमबाट तत्काल युद्ध विराम हुने कुनै छनक देखिएको छैन । रासस



प्रतिक्रिया दिनुहोस्