Logo

पोखरा विश्वविद्यालयको १९ औँ दीक्षान्त समारोह : यूनिग्लोबका सुवास बुढाथोकीलाई ‘गोल्ड मेडल’



काठमाडौं, फागुन ९ । पोखरा विश्वविद्यालयको १९ औँ दीक्षान्त समारोह मंगलबार सम्पन्न भएको छ । समारोहमा विभिन्न तह र संकायका गरी ७ हजार ६५१ विद्यार्थी दीक्षित भएका छन्।

समारोहमा काठमाडौंमा रहेको यूनिग्लोब कलेजका विद्यार्थी सुवास बुढाथोकीले गोल्ड मेडल प्राप्त गरेका छन् । यूनिग्लोब कलेज स्नातकोत्तर कार्यक्रम, एमबीएका विद्यार्थी बुढाथोकीले सर्वोत्कृष्ट ४ जिपिए ल्याएर गोल्ड मेडल जित्न सफल भएका हुन ।

विश्वविद्यालयका सहकुलपति एवं शिक्षामन्त्री अशोक राईको उपस्थिति एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान् कोइरालाको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह सम्पन्न भएको थियो ।

स्नातकोत्तर तहका सम्पूर्ण कार्यक्रमहरूमा सबैभन्दा उच्चतम् अंक प्राप्त गर्ने १३ जना विद्यार्थीले स्वर्णांकित कुलपति पदक प्राप्त गरेका छन्। कुलपति पदक प्राप्त गर्नेहरुमा हेमन्त लामिछाने, विवेकबाबु लामिछाने, रोमहर्ष वली, गंगा गिरी, गरिमा श्रेष्ठ, कामना कटुवाल, मञ्जु पाण्डेय, समीर सुवेदी, सृष्टि भूर्तेल, आकृति थापा, सम्झना कार्की र वीनिता आचार्य रहेका छन्।

तीमध्ये वीनिता मानविकी तथा सामाजिकशास्त्र संकायकी हुन्। विज्ञान तथा प्रविधि संकायतर्फका हेमन्त लामिछाने, विवेकबाबु लामिछाने र रोमहर्ष वली हुन् भने बाँकी व्यवस्थापन संकायका हुन्। उनीहरू सबैले जीपीए ४ ल्याएका छन्।

स्नातकतर्फ सम्पूर्ण कार्यक्रमहरूमा सबैभन्दा उच्चतम अंक प्राप्त गर्ने विद्यार्थीले स्वर्णांकित उपकुलपति पदक पाएका छन्। स्नातक तहका कार्यक्रमहरूमा बिसिएतर्फ सबैभन्दा उच्चतम अंक प्राप्त गर्ने विद्यार्थीले स्वर्णांकित अक्सफोर्ड पदक प्राप्त गरेका छन्।

विश्वविद्यालयको स्नातक तहका कार्यक्रमहरूमा सिजिपिए ३.७ वा सो भन्दा बढी अंक तथा स्नातकोत्तर तहका कार्यक्रमहरूमा सिजिपिए ३.८ वा सोभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थीलाई डीन लिष्ट उपाधि प्रदान गरिने व्यवस्थाअन्तर्गत विभिन्न विधाका ६ सय ४६ विद्यार्थीले सो उपाधि प्राप्त गरेका हुन् ।

स्नातक तह कम्प्युटर एप्लिकेसन कार्यक्रममा सबैभन्दा बढी अंक ल्याउने आस्था श्रेष्ठ गोल्ड मेडल र व्यवस्थापन संकायअन्तर्गत आंगिक महाविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर तहमा उच्च अंक प्राप्त गर्ने सृष्टि भूर्तेल लक्ष्मी विद्या पदकबाट विभूषित भएकी छन् ।

दीक्षान्त समारोहलाई सम्बोधन गर्दै सहकुलपति एवं शिक्षामन्त्री राईले नेपाली विश्वविद्यालय, शिक्षालयहरुले नयाँ कुरा खोजी गर्दा आफ्ना संस्कार, परम्परा, दर्शनको अनुसन्धान र प्रयोगमा उचित ध्यान पुर्‍याउन नसकेको धारणा राखे ।

विश्वविद्यालयका उत्पादनलाई रोजगारमा जोड्न सरकार शैक्षिक नीतिमै परिवर्तन गर्ने सोचमा रहेको बताउँदै उनले विश्वविद्यालयलाई प्रतिस्पर्धी, प्रभावकारी र नमुना बनाउन प्राज्ञिक जनशक्तिलाई नै जिम्मा दिइनुपर्ने बताए।

त्यस्तै, प्राडा कोइरालाले नेपालको दोस्रो विश्वविद्यालय पोखरा विश्वविद्यालयको गुणस्तरलाई अझ बढाउन एकीकृत प्रयास आवश्यक हुने बताए । उनले विश्वविद्यालयहरुमा गुणस्तर कायम गर्नका लागि योग्यता अनुरुप जिम्मेवारी दिइनुपर्ने सुझाव व्यक्त गरे । उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयको अवस्था र भावी योजनामाथि प्रकाश पारे ।

२०५४ मा स्थापित पोखरा विश्वविद्यालयका ४ आंगिक महाविद्यालय छन्। विश्वविद्यालयमा १ सय ४५ स्थायी र ५२ करार शिक्षक र २ सय १२ कर्मचारी कार्यरत छन् । पोखरा विश्वविद्यालयमा ३ संयुक्त आंगिक र ५८ सम्बन्धन प्राप्त महाविद्यालयमा ६४ कार्यक्रममा अहिले ३५ हजार २ सय ४० विद्यार्थी छन् । विश्वविद्यालयले पोखरा ढुंगेपाटनमा शिक्षण अस्पतालसमेत सञ्चालन गरेको छ।



प्रतिक्रिया दिनुहोस्