Logo

व्यापक दवावपछि नाभाल्नीको शव परिवारलाई फिर्ता



काठमाडौं, फागुन १३ । रुसी प्रमुख विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनको परिवारलाई फिर्ता गरिएको। नाभाल्नीकी आमा किरा यार्मिसलाई रुसी प्रशासनले मृत्यु भएको एक हप्ताभन्दापछि शव फिर्ता गरेको हो ।

शव फिर्ता पाउनका लागि नाभाल्नीको परिवारले रुसी प्रशासनसँग ठूलो संघर्ष गर्नुपरेको छ । नाभाल्नीकी आमाले उनका छोराको मृत्युपछिको अवशेष प्राप्त गरेको बताउँदै अन्त्येष्टि हुन बाँकी रहेको बताएकी छन् । साथै सबैलाई धन्यवाद समेत दिएकी छन् ।

नाभाल्नीको गोप्य अन्त्येष्टिका लागि आमालाई रुसी प्रशासनले व्यापक दवाव दिएको थियो । तर उनी त्यसका लागि सहमत भइनन् । रुसी प्रशासनले नाभाल्नी मृत्युको घोषणा गरेपछि आमाले शव राखेको ठाउँ पहिचान गर्न र शव प्राप्तिका लागि झण्डै एक साता साइबेरियाको आर्टिक जेल नजिकैको शहरमा बिताएकी थिइन् ।

नाभाल्नीकी आमालाई प्रशासनले प्राकृतिक रुपमा मृत्यु भएको भन्ने मृत्यु प्रमाणपत्रमा हस्ताक्षर गर्न लगाएको थियो । साथै तीन घन्टाभित्र गोप्य अन्त्येष्टिका लागि सहमत हुन समय दिंदै नमानेमा जेलभित्रै गाड्ने चेतावनी दिएको थियो ।

नाभाल्नीको अन्तिम संस्कारको योजना अझै निर्धारण भइनसकेको बताइएको छ । प्रशासनले परिवार र समर्थकले चाहे अनुसार नाभाल्नीको अन्तिम संस्कार गर्न पाइने नपाइने अझै अन्योल छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot