Logo

नेपाली कला संस्कृतिलाई विश्वमाझ चिनाउने अभियानमा एनआरएनए उपमहासचिव एबं सामाजिक अभियन्ता प्रविन गुरुङ



काठमाडौं । सामान्यतया हरेक मानिसले आफ्नो जीवनको भिन्न समयमा भिन्न भिन्न कर्म गरेका हुन्छन । मानिस आफ्नो जीवनलाई जसरी पनि सफल र उत्कृष्ट बनाउने बाटोमा हरपल लागिरहेको हुन्छ । तर, मानिसले गर्ने हरेक कार्य सिद्ध नहुन सक्छन् । तैपनि प्रयासलाई नछाड्ने हो भने मेहनतले एक दिन सफलताको शिखरमा पक्कै पनि पुर्‍याउँछ । यसैको एउटा ज्वलन्त उदाहरण हुन गजमान र गोपीमाया गुरुङका एक्ला छोरा प्रवीण गुरुङ ।

गैर नेपाली आवासीय संघ आइसिसिको उपमहासचिव गुरुङ विक्रम सम्वत २०३५ सालमा चितवनको राईगन्जमा जन्मिएका हुन । उनी भूतपूर्व भारतीय लाहुरे समेत हुन । साढे सात वर्ष सम्म ‘गोर्खा पल्टन’ भनेर चिनिएका भारतीय सेनाका यी जवान सन २००४ मा कतार पुगे । त्यहाँ पुगेर उनले कतारस्थित अमेरिकी सैनिक क्याम्पको सुरक्षा गार्डका रुपमा काम गरे ।

‘मैले साढे सात वर्ष भारतीय सेनामा काम गरें तर त्यसपछि मलाई त्यो काम गर्न मन लागेन र कतारमा हुनुभएको मेरो दिदी भिनाजुसँग समन्वय गरेर म कतार आएँ,’ उनले भने , यहाँ आएर मैले अमेरिकी सैनिक क्याम्पमा सुरक्षा गार्डको रुपमा काम गरें।’

त्यहाँ उनले ६ वर्ष सुरक्षा गार्डका रूपमा काम गरे । जुझारु र लाहुरे स्वभावले भरिएका गुरुङले कतारको जागिरबाट बचेको अर्थलाई व्यवसायमा लगाए । कतारमा समसरा थकाली भान्छाघरबाट उनले आफ्नो व्यवसायिक यात्रा सुरु गरेका थिए । त्यसैले उनलाई त्यहाँको स्थापित व्यवसायी र समाजसेवी बनाइदियो ।

भान्छाघरबाट सोचेभन्दा राम्रो आम्दानी हुन थालेपछि गुरुङले जागिर छोडिदिए । बिस्तारै उनले रियल स्टेट, कन्स्ट्रक्सन, हस्पिटालीटी, कन्सल्टेन्सी लगायतका ब्यबसाय सञ्चालन गरे । यसैबीचमा उनलाई सांगीतिक क्षेत्रप्रति पनि चासो बढ्दै गयो । विस्तारै अन्य काम गर्दै गर्दा थाहै नपाई उनी गीतसङ्गीत तिर पनि ढल्किए । आफूले गाउने नाच्ने नगरे पनी कला र कलाकारलाई रगतमा बोकेर हिँडेका गुरुङले नेपाल देखि कतारका विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजक, सहयोगी बन्दै अहिलेसम्म यस क्षेत्रमा ठूलो रकम लगानी गरिसकेका छन ।

सन २०१७ मा नेपाल आइडल सिजन १ को ग्रान्ड फिनाले कतारमा सम्पन्न गर्न सकिन्छ भन्ने साहसिला युवा यिनै गुरुङ थिए । उनको परिकल्पना तथा लगानीमा उक्त ग्रान्ड फिनाले सम्पन्न भएको हो । उनको नशामा गीतसङ्गीतको रस यसरी बग्यो कि उनी आफू आबद्ध गैरआवासीय नेपाली सङ्घ९एनआरएनए० मा समेत कला र सङ्गीतलाई बलियो स्थान दिँदै गए ।

सामाजिक संस्था र कार्यमा सक्रिय गुरुङले सन २०१८ को डिसेम्बरमा पुन दि भोईस अफ नेपालको पहिलो सिजनको ग्रान्ड फिनालेलाई कतारमा भित्राए । दुवै रियालिटी सो का ग्रान्ड फिनाले कतारमा सम्पन्न गर्ने यिनै गुरुङले कला र कलाकारको लागि ठूलो रकम लगानी गरेका छन् ।

नेपालबाट बुगीउगी डान्स रियालिटी सोका टप चार र नेपाल आइडल सिजन दुई का टप चार प्रतियोगी कलाकार ल्याएर सन् २०१९ मा नेपाल आइडल र बुगीउगी इद फेस्टिवल २०१९ पनि सम्पन्न गरे । एनआरएनए मध्यपूर्व संयोजक हुँदा नै उनले मध्यपूर्व क्षेत्रीय युवा विभागले आयोजना गरेको ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेन्ड जेनेरेसन – २०२१’ लगायतका कार्यक्रम सफलता पूर्वक सम्पन्न गरी सकेका छन् ।

फेब्रुअरी ०२, २०२४ मा ग्राण्ड फिनाले भएको गैरआवासीय नेपाली तारा–२०२३, कतार सिजन ४’मा उनी समूदघाटन तथा ग्राण्ड फिनालेमा अतिथि निर्णायकका रूपमा रहेका थिए । गीतको सुर ताल र लयलाई समेत बुझ्न सक्ने गुरुङले प्रतियोगीलाई दिने प्रतिक्रिया निकै चाख लाग्दा र मार्ग निर्देशक हुने गर्छन् । गुरुङले विश्वमा जहाँ पनि गीत संगीत तथा सामाजिक कामका लागि आफूलाई अग्र भागमा राख्ने गरेका छन् । । डिजिटल प्लेटफार्म सँगै उदयमान भएका नवोदित कलाकारका लागि सन् २०२२ मा टिकटक अवार्ड समेत सम्मपन गरेका उनले गीतसङ्गीत सँगै व्यवसायलाई पनि सँगसँगै लगेका छन् ।

कतारको मुग्लिनामा रहेको भिआइपी होटेलमा “भिआइपी स्टार एन्ड बार समेत सञ्चालन गरिसकेका उनले एसियाना दोहोरी तथा गजल बारबाट करीब एक दर्जन कलाकार लाई प्रत्यक्ष रोजगारी दिएका छन् । उनलाई गीत सङ्गीतको मेरुदण्ड मान्न सकिन्छ । जीवनमा थुप्रै पटक लडेर उठेका गुरुङले व्यवसायमा सफल हुनको लागि इमानदारी र मेहनतलाई नै प्रमुख कारण मान्छन् ।

दुई सन्तानका पिता गुरुङले आफनी जीवन सङ्गिनी सरिता गुरुङकै कारण आफूलाई मेहनत गर्न ऊर्जा मिल्ने गरेको बताउँछन् । उनी २०१५–१७ मा एनआरएनए कतारका उपाध्यक्ष, २०१७ –१९ मा एनआरएनए मध्यपूर्व उप संयोजक,२०१९–२०२१ मा मध्यपूर्व संयोजक र २०२१–२०२३ मा सचिव का हैसियतमा कार्य सम्पादन गरेका गुरुङ वर्तमान कार्य समितिका उपमहासचिव हुन ।

एनआरएनए कतारको सदस्य, उपाध्यक्ष, मध्यपूर्व उपसंयोजक, संयोजक हुँदै आइसीसी सचिवसम्म सर्वाधिक रुचाइएका गुरुङले महाभूकम्पमा लाप्राक नमूना बस्ती निमार्णमा होस या हावाहुरी, बाढीपहिरोमा स्थलगतरुपमा ६ सय घरधुरीलाई राहत वितरण गरेका थिए । कोभिड महामारीमा ५६० अक्सिजन सिलिण्डर नेपाल पठाउन गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अग्रपंक्तीमा रहेर काम गरेका थिए ।

उनले नेपाली कला, संस्कृतिलाई विश्व बजारमा लैजाँदै नेपालकै पहिलो नेपाल आइडल, द भ्वाइस अफ नेपाल, बुगीबुगीको पहिलो सिजनको ग्रान्ड फिनाले कतारमा आयोजना गरेका थिए । नेफ्टा अवार्ड, एनआरएनए ग्लोबल सिंगिङ आइडल सफलतापुर्वक सम्पन्न गरेका गुरुङ युवा पुस्तामाझ लोकप्रिय रहेका छन ।

एनआरएनएको सचिव पदमा रहँदा होस या एनआरएनए अभियानमा लागिरहँदा महाभूकम्प, हावाहुरी, बाढी पहिरो, कोभिड–१९ लगायत दैवी विपत्तिको समयमा स्वयम् उपस्थित भई गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अस्थायी तथा स्थायी वासस्थान, खाद्यान्न, स्वास्थ्य सामग्रीलगायत विभिन्न राहत सामग्री वितरण लगायतका दर्जनौँ सामाजिक कार्य सम्पन्न गरी सकेका छन । केही समयअघि जाजरकोट र रुकुममा गएको भूकम्पमा पनि उनी आफैँ पुगेर करिब तीन सय भन्दा बढी घरधुरीलाई राहत वितरण गरे भने अस्थायी टहरा निर्माण गरेर फर्किए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot