Logo

आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानको परिसरमा राखिँदै



काठमाण्डौं, फागुन १५ । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिने भएको छ ।

आचार्यको पार्थिव शरीरलाई अहिले बिहान ९ बजेदेखि परिसरमा राख्ने र संगीतकर्मीहरूले आचार्यको सम्मानमा उनको गीत गाउने तयारी छ । अन्तिम श्रद्धान्जलिका लागि प्रज्ञा प्रतिष्ठानमा राखेपछि दिउँसो १ बजे अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ । उनको आजै हिन्दु संस्कारअनुसार दाहसंस्कार गरिनेछ ।

आचार्यको निधनप्रति सङ्गीतकर्मी, सर्वसाधारण तथा राजनीतिक दलका नेतालगायतले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । आचार्यको ८१ वर्षको उमेरमा सोमबार निधन भएको थियो ।

आचार्य स्वरसम्राट नारायण गोपालका समकालीन गायक हुन् । आचार्यका, जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ, हजार सपनाहरूको माया लायर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् । ०४६ साल मंसिर १९ गते दुर्घटनामा परेपछि आचार्यले आफ्नो स्वर गुमाएका थिए।



प्रतिक्रिया दिनुहोस्