Logo

वनकरियासहित उद्यमीलाई व्यावसायिक योजना तालिम



हेटौँडा (मकवानपुर), १७ फागुन । मकवानपुरको मनहरि गाउँपालिकामा रहेका लोपोन्मुख वनकरिया समुदायका महिला उद्यमीलाई बजारीकणसहित ग्रीन फाउण्डेसन नेपालले (जिएफएन) व्यावसायिक योजना बनाउने तालिम प्रदान गरेको छ । वनमा आधारित उद्यमको दिगो विकास र व्यवस्थापन गर्दै समुदायलाई वनबाट आयमा जोड्ने उद्देश्यसहित व्यावसायिक योजनाको तालिम दिइएको हो ।

तालिममा बागमती प्रदेशसभा सदस्य भारती पाठकले वनबाट समृद्धि सम्भव भएको भन्दै वनमा आधारित उद्यम विकासका लागि यस्ता तालिमले सहयोग गर्ने बताइन्। उनले महिलालाई प्राकृतिक स्रोतको अधिकारमा जोड्दै उद्यमी बनाउन वनमा आधारित उद्यमको भूमिका महत्वपूर्ण रहेको जनाइन्।

प्रदेशसभा सदस्य पाठकले महिलालाई उद्यमसँगै उत्कृष्ट व्यवसाय गर्न आफ्नो साथ र सहयोग रहेको स्पष्ट पारिन् । वनमा आधारित उद्यम र खेर गएको जडिबुटीलाई उचित व्यवस्थापन गर्न नीतिगत सुधारका लागि पहल गर्ने उनको प्रतिबद्धता थियो ।

संस्थाले देशभरबाट सामुदायिक वनमा आधारित उद्यमीलाई स्थापित गराउने अभियानअन्तर्गत मकवानपुरमा रहेका महिला उद्यमीलाई तालिम दिएको संस्थाका अध्यक्ष घनश्याम पाँडेले जानकारी दिए। उनका अनुसार समुदायमा रहेका विपन्न, लोपोन्मुख र महिलालाई वन व्यवस्थापन गर्दै उद्यमी बनाउन संस्थाले यो अभियान चलाएको हो । अध्यक्ष पाँडेले अबको केही वर्षमा नै प्रतिफल देखिने गरी काम गरिएको समेत प्रष्ट्याए ।

मकवानपुरमा रहेको लोपोन्मुख वनकरियाको जीवनयाजन वनमा आधारित भएको र हाल उनीहरूले व्यवस्थापन र प्रयोग गर्दै आएको मसिने–शान्ति सामुदायिक वन मध्यवर्ती क्षेत्रमा परेपछि वैकल्पिकरूपमा आयआर्जनका लागि सुरु गरिएको वनकरिया–चेपाङ महिला साबुन उद्योगलाई उचाइमा पुर्याउँदा त्यहाँको समुदायको अवस्थामा देखिने सुधार आउने उनको भनाइ छ । त्यसैगरी हेटौँडामा रहेका र उत्पादन भइरहेका काष्ठ हस्तकला, गुन्द्रुक–मस्यौरा, दुना टपरीलगायत सबै उत्पादनका लागि बजारीकरण गर्न व्यावसायिक तालिमले सहयोग गर्ने उनले बताए।

तालिममा सहभागी भएका वनकरिया–चेपाङ महिला साबुन उद्योगकी सञ्चालक सन्तोषी वनकरियाले विगतको तालिमबाट साबुन कसरी बनाउने भन्नेबारे सिकेको भए पनि फाउण्डेसनको तालिमले योजना बनाएर बजारमा जान सहयोग गरेको बताइन् ।

त्यसैगरी विगत १० वर्षदेखि काष्ठ हस्तकला उद्योग सञ्चालन गर्दै आएकी हेटौँडा–५ की विष्णु राईले व्यावसायिक योजनाविना हालसम्म गरेको व्यवसायले चित्तबुझ्दो मुनाफा हुन नसकेको बताउँदै यस तालिमले आगामी बाटो प्रष्ट्याएको जनाइन् ।

तालिममा काष्ठ हस्तकला, गुन्द्रुक, दुना—टपरी र साबुन उत्पादन गरिरहेका महिलाहरूको सहभागिता रहेको थियो भने तालिमलाई फाउण्डेशन नेपालका उद्यम विकास अधिकारी वासुदेव घिमिरेले सहजीकरण गरेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्