Logo

इरान निर्वाचन : २९० सदस्यका लागि १५ हजारभन्दा बढी प्रतिस्पर्धामा



तेहरान, १७ फागुन । इरानी संसद्का २९० सदस्यका लागि १५ हजारभन्दा बढी प्रतिस्पर्धीले मनोनयन दर्ता गरेका छन् ।

इरानको संवैधानिक परिषद्का प्रवक्ता हादी ताहान नाजिफले शुक्रबार हुने निर्वाचनमा इरानी संसद्को २९० सिटका लागि विभिन्न क्षेत्रका १५ हजारभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गर्ने बताएका छन् ।

शुक्रबार हुने १२ औँ संसदीय र छैटौं एसेम्ब्ली अफ एक्सपर्ट्स को निर्वाचनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा इरानको राजधानी तेहरानमा नाजिफले निर्वाचनमा नयाँ नेतृत्व चयनका लागि स्वस्थ प्रतिस्पर्धा हुनेमा कुनै आशङ्का नगर्न विश्व समुदायसँग आग्रह गरेका छन् ।

नाजिफका अनुसार उम्मेदवारको उमेर ३० देखि ७५ वर्षको हुनुपर्छ र दर्ता भएकामध्ये करिब ७५ प्रतिशत निर्वाचनमा भाग लिन योग्य हुनेछन् ।

सन् १९९० को दशकमा जन्मिएका करिब ४०० र सन् १९८० को दशकमा जन्मिएका करिब तीन हजारभन्दा बढी उम्मेदवार रहेका इरानी अधिकारीले बताएका छन् ।

उम्मेदवारमध्ये १३ प्रतिशत महिला उम्मेदवार रहेका छन् । वकिल, न्यायाधीश, शिक्षक र चिकित्सकलगायत विभिन्न क्षेत्रमा चर्चित व्यक्तिहरू निर्वाचन प्रतिस्पर्धामा सामेल भएका उनले बताए ।

प्रवक्ताका अनुसार संवैधानिक परिषद्ले निर्वाचनका बेला देशभरका करिब ६० हजार मतदान केन्द्रमा अनुगमन र पर्यवेक्षकका रूपमा काम गर्न करिब दुई लाख ३० हजार इरानी नागरिकलाई तालिम दिएको छ ।

“सन् १९७९ को इस्लामिक क्रान्तिको विजयपछि धार्मिक अल्पसङ्ख्यकहरूले इरानी संसद्रमा आ–आफ्नो स्थान पाएका छन्,” उनले भने ।

त्यसैगरी आठ वर्षे कार्यकाल रहेको ‘एसेम्ब्ली अफ एक्सपर्ट्स’ का ८८ सदस्यका लागि १४४ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

नाजिफले दुई लाख ५० हजार सेनालाई निर्वाचनमा सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी दिइएको बताए ।

इरानको निर्वाचन कार्यालयले यसै महिनाको सुरूमा दिएको जानकारीअनुसार यी दुई निर्वाचनमा मतदानका लागि कुल छ करोड ११ लाख ७० हजार मतदाताले योग्यताको मापदण्ड पूरा गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्