Logo

ट्रिपरले जिपलाई ठक्कर दिँदा तीनको मृत्यु, दुई जना घाइते



काठमाडौं, फागुन १८ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा यात्रुवहाक जिपलाई ट्रिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । बेलबारीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २८५६ नम्बरको जिपलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.२–००१ ख ९६७६ नम्बरको ट्रिपरले आज बिहान ठक्कर दिएको हो । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार दुर्घटनामा झापाको कमल गाउँपालिका–२ का ५२ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका–४ की ४४ वर्षीया दीपा खानाल र झापाको बिर्तामोड नगरपालिका–२ का ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका यदुकान्त र दीपाको विराटनगरस्थित कोशी अस्पताल तथा कृष्णको विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका कमल गाउँपालिका–४ का ४६ वर्षीय हरि खनाल र कमल–२ की ४८ वर्षीया गायत्री भट्टराईको न्युरोमा उपचार भइरहेको छ। घाइतेमध्ये हरिको अवस्था गम्भीर रहेको जनाइएको छ । ट्रिपरले जिपलाई ठक्कर दिनु अघि काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–००१ ख २७१८ नम्बरको यात्रुवहाक बसलाई समेत ठक्कर दिएको खुल्न आएको छ । प्रहरीले ट्रिपर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot