Logo

शहबाज दोस्रो पटक पाकिस्तानको प्रधानमन्त्री बन्ने दौडमा



इस्लामावाद, पाकिस्तान, २० फागुन । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष तथा नवगठित आठ दलीय गठबन्धनका नेता शहबाज सरिफ दोस्रो पटक प्रधानमन्त्री बन्ने तयारीमा रहेको पाकिस्तानबाट प्रकाशन हुने अङ्ग्रेजी पत्रिका डनले आइतबार जनाएको छ ।

उनले राष्ट्रिय सभाको हालै सम्पन्न निर्बाचनमा आइतबार हुने प्रतिस्पर्धामा पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) बाट मनोनीत ओमार अयुब खानको सामना गर्नेछन् । पाकिस्तानका राष्ट्रिय सभामुख अयाज सादिकले दुवै पक्षका नेताहरूको उपस्थितिमा गरिएको जाँचपछि वैध घोषित गरेको राष्ट्रिय सभा सचिवालयमा दुवै नेताले आफ्नो मनोनयनपत्र बुझाएका छन् ।

राष्ट्रिय सभा (नेशनल एसेम्ब्ली) सचिवालयका अनुसार शहबाज सरिफले आठ र उमर अयुब खानले चार वटा मनोनयनपत्र पेश गरेका छन् जसमा विभिन्न प्रस्तावक र समर्थकको हस्ताक्षर रहेको छ ।

खानले शरीफको मनोनयन प्रक्रिया नै गलत भएको बताएका छन् । उनले सरिफलाई फारम–४७ मा हेरफेर गरेर उनलाई संसद् सीट ‘उपहार’ दिएको दावी गरेका छन् ।

उनले भने, “फारम–४५ अनुसार निर्वाचन क्षेत्रका पराजीत भएकोले पीएमएल–एन का अध्यक्षले पाकिस्तानको प्रधानमन्त्रीको चुनाव लड्न सक्नुहुन्न ।”

“सरिफलाई गलत तरिकाले पाकिस्तानको राष्ट्रिय सभाको सदस्यको रूपमा शपथ गराइएको छ र उनी प्रधानमन्त्री पदका लागि उम्मेदवार हुन सक्नुहुन्न ।” यद्यपि, उमर अयूब खानले उठाएको आपत्तिलाई अस्वीकार गरिएको छ ।

शुक्रबार झण्डै ‘एकतर्फी’ भएको प्रतिस्पर्धामा सभामुख र उपसभामुखको पद जितेपछि नवगठित गठबन्धनले पाकिस्तानको प्रधानमन्त्री पद सम्हाल्नेमा विश्वस्त देखिएको छ ।

यसैबीच, स्वतन्त्र रूपमा निर्वाचित भएका र पछि सुन्नी इत्तेहाद काउन्सिल (एसआईसी) मा सामेल भएका पीटीआईका सांसदहरूले फेब्रुअरी ८ मा भएको चुनावमा धाँधली भएको भन्दै सदनमा आफ्नो विरोध जारी राख्ने अपेक्षा गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot