Logo

बालकोटमा एमालेको आकस्मिक बैठक, सत्ता गठबन्धनको बैठक स्थगित



काठमाडौं, फागुन २१ । सत्ता गठबन्धनको सोमबार बिहानका लागि बोलाइएको बैठक स्थगित भएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रीको कार्यशैली र सुशाशन लगायतका विषयमा कुरा नमिलेपछि गठबन्धनमा तिक्तता आएको छ । आपसी तिक्तता मेटाउन बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ।

सत्ता गठबन्धनको बैठक स्थगित भएसँगै केपी ओली निवास बालकोटमा नेकपा (एमाले) केन्द्रीय सचिवालयको आकस्मिक बैठक बसेको छ। एमालेको सचिवालय बैठक फागुन २५ गतेका लागि बोलाइएको थियो। तर सत्ता गठबन्धन धरमराएसँगै पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा आकस्मिक बैठक आह्वान गरेको हो।

यता बिहानैदेखि बालुवाटारमा माओवादी पदाधिकारी बैठक बसिरहेको छ । त्यस्तै, नेपाली कांग्रेसका नेताहरु छुट्टै छलफलमा जुटेका छन्। आइतबार पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता र दलबाट मन्त्री भएकाहरुलाई बोलाएर छलफल गरेका थिए। सत्ता गठबन्धनमा देखिएको खटपटकै कारण परराष्ट्रमन्त्री एनपी साउदको भ्रमण समेत स्थगित भएको छ।
आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ बारे छलफल हुने बताइएको थियो। प्रतिपक्षी दलकै सहयोगमा विधेयक पारित हुने अवस्था रहँदा सरकारमै रहेका नेपाली कांग्रेसका मन्त्रीले विधेयक रोकेपछि गठबन्धनमा विवाद उत्कर्षमा पुगेको हो । गठबन्धनमा दरार देखिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो।



प्रतिक्रिया दिनुहोस्