Logo

तोडियो गठबन्धन! एमालेसहित रास्वपा, राप्रपा र जसपाको सरकार बन्ने



काठमाडौं, फागुन २१ । मन्त्रिपरिषद् पुनर्गठन एवं राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा सत्ता गठबन्धनभित्र अविश्वास बढ्दा सत्ता गठबन्धन टुटेको छ । आइतबार रातिसम्म चलेको बैठकमा जुटेको सहमति र बिहानैदेखि भएका आन्तरिक छलफलका सहमती अनुसार माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोड्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सहिद सप्ताहका अवसरमा सुखानी सहिदका परिवारसँगको भेटको क्रममा आजैको मितिदेखि कम्युनिस्ट एकताका लागि थप पहल गरिरहेको जानकारी गराएका थिए ।

माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोड्ने निर्णय गरेसँगै अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । अरू दलसँग पनि कुरा हुँदै गरेको नेताहरूले बताएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गर्न सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बसेको छ भने नेकपा (एमाले)को सचविालय बैठक बालकोटमा बसिरहेको छ ।

हिजो बिहान प्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरेका थिए भने साँझ पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसहितका नेताहरुबीच छलफल भएको थियो ।

छलफल संक्रमणकालीन न्यनयसम्बन्धी विधेयकमा केन्द्रित भएको भनिए पनि नयाँ राजनीतिक समीकरणबारे समेत छलफल भएको बताइएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक पनि बसिरहेको छ । पार्टी कार्यालयमा जारी बैठकले वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल गर्दै आवश्यक निर्णय लिने बताइएको छ ।

एमाले र माओवादीले आन्तरिक एवं दुईपक्षीय छलफल गरिरहँदा बोलाइएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । सत्तारूढ कांग्रेस र माओवादीबीच अविश्वास बढेको भन्ने कुरा पछिल्लो समय सार्वजनिक भैरहँदा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई नयाँ समीकरण बनाउने पहलका रुपमा बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्