Logo

गृह मन्त्रालयमा विष्णु पौडेल र रवि लामिछानेको दाबी, ओलीलाई देखाएर पन्छिए प्रचण्ड



काठमाडौं, २१ फागुन । एमाले, माओवादी, रास्वपा र जसपासहितको नयाँ गठबन्धन बनेपनि मन्त्रालयमा भागबण्डा नमिल्दा शीर्ष तहबाट सरकारमा सहभागी हुने सम्भावना न्यून बनेको छ । खासगरी गृह मन्त्रालयमा एमाले र रास्वपा दुवै दलको दाबी छ । रास्वपाका सभापति रवि लामिछानेले उपप्रधान एवम् गृहमन्त्री बनेर पूनः सत्तारोहण गर्ने चाहना राखेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भने गृह मन्त्रालयमा आफ्नो दलको दाबी नरहने भन्दै दुई दलका नेताहरुलाई आपसमा सहमति गरेर मिलाउन भनेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति लामिछानेबीच गृहमन्त्रालय कसले लिने भन्नेबारे अहिले केहीबेरमा टुँगो लाग्ने भएको छ । रविको आग्रहमा ओली लचिलो बनेका छन् ।

तर, एमालेबाट यसपटक उपप्रधानमन्त्रीसहित गृहमन्त्रालयको नेतृत्वमा उपाध्यक्ष विष्णु पौडेलले जाने ईच्छा देखाएका छन् । विष्णुले नै चाहना राखेकोले अध्यक्ष ओली दबाबमा आएका छन् । यसअघि ०७९ पुष १० गतेको एमाले–माओवादीको गठबन्धनमा मिसिँदा रविलाई गृह मन्त्रालयको नेतृत्व ओलीले नै जोडबल गरेर सुम्पिएका थिए ।

रविले गृहमन्त्रीको रुपमा ३२ दिन काम गरेका थिए । अहिले उनले आफूले गृहमन्त्रालयको नेतृत्वमा रहेर सुशासनको पक्षमा महत्वपूर्ण काम गर्ने भनेर प्रधानमन्त्री दाहालसमक्ष वचन दिएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्