Logo

एक बर्षमा जनावरको आक्रमणका कारण २३ हजार अस्ट्रेलियाली घाइते



क्यानबेरा, ३०फागुन । सन् २०२१/२२ मा जनावरका कारण घाइते भएका २३ हजारभन्दा बढी अष्ट्रेलियालीलाई अस्पतालमा भर्ना गरिएको थियो ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर (एआइएचडब्लु) ले बुधबार प्रकाशित गरेको रिपोर्ट अनुसार जुन २०२२ को अन्त्यसम्मको १२ महिनाको अवधिमा अस्ट्रेलियामा जनावरका कारण २३ हजार ३८० व्यक्ति घाइते भएका र अस्पताल भर्ना हुनु परेको थियो ।

अस्पतालमा भर्ना हुनेमध्ये ५३ प्रतिशत बिरालो र कुकुर, २२ प्रतिशत गाईवस्तु, २१ प्रतिशत वन्यजन्तु र विषालु जनावर तथा २।२ प्रतिशत समुद्री जनावरको आक्रमणको कारण घाइते भएको रिपोर्टमा जनाइएको छ ।

सन् २०२१/२२ मा अष्ट्रेलियामा घाइते भई अस्पताल पुगेका विरामीमध्ये ९०.५ प्रतिशत जनावरको आक्रमण वा सम्पर्कको कारणले घाइते भएका थिए । यो सन् २०१२/१३ को भन्दा ६६.५ प्रतिशत बढी हो ।

अस्पताल भर्ना भएका ५७ प्रतिशत बिरामीहरूमा खुल्ला घाउ तथा सामान्य प्रकारको चोट थियो भने १५ प्रतिशतमा भाँचिीएको र १० प्रतिशतमा विषाक्त प्रभावहरू थिए ।

वन्यजन्तु र विषालु जनावरहरूमा सरीसृपको टोकाइका कारण सबैभन्दा बढी अस्पतालमा भर्ना हुनुपरेको थियो भने त्यसपछि अन्य कीराको टोकाइ वा सम्पर्कका कारण अस्पताल सेवा लिनुपरेको थियो ।

अष्ट्रेलिया विश्वको सबैभन्दा विषालु जनावरहरूको घर हो, तर अस्ट्रेलियालीहरू विषालु जनावरहरूको तुलनामा गैर–विषालु संलग्न चोटका कारण अस्पतालमा भर्ना हुने सम्भावना ६.६ गुणा बढी रहेको एआईएचडब्ल्यूकी प्रवक्ता सारा अहमदले बताए ।

महिलाहरू पुरुषहरू भन्दा १.२ गुणा बढी सामान्य पाल्तु जनावर सम्बन्धित चोटका कारण अस्पतालमा भर्ना हुने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ । रासस



प्रतिक्रिया दिनुहोस्