Logo

इलाममा ११ बजेपछि र बझाङमा दिउँसोपछि मतगणना शुरु हुने



काठमाडौं, वैशाख १६ । इलाम क्षेत्र नं २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्य छान्न भएको मतदानको मतगणना अहिले बिहान ११ बजेबाट सुरु हुने भएको छ। मतगणनाका लागि बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो। इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना गर्नका मतपेटिका गएराति अबेर मात्र सङ्कलन गरेर सदमुकामको मतगणनास्थल ल्याइएको छ ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै राजनीतिक दल र उम्मेदवारसहित सरोकारवालालाई सर्वदलीय बैठकका लागि बोलाइएर सबै प्रक्रिया पूरा गरेर बिहान ११ बजेपछि गणना शुरु गर्ने तयारी रहेको जानकारी दिए।

इलामको गौतम बुद्ध सभा हलका दुई ठाउँमा मतगणना हुनेछ । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणना स्थलमा तारबार गरी सिसीटिभी जडान गरिएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार सबै मतपेटिका उच्च सुरक्षा साथ राखिएको छ । इलाम–२ मा राजनीतिक दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यहाँ हिजो भएको उपचुनावमा ६० प्रतिशत मत खसेको छ ।

एमाले नेता तथा सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ मा उपचुनाव भएको हो । त्यस्तै प्रदेशसभा सदस्यका लागि बझाङ–१ (क) मा भएको उपचुनावमा झन्डै ५० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी मानबहादुर धामीकाअनुसार जिल्लाका सबै मतदान केन्द्रका मतपेटिका सदरमुकाममा सङ्कलन गरिएको छ ।

त्यहाँ पनि सर्वदलिय बैठक बसेर दिउँसोदेखि गणना शुरु गर्ने तयारी छ । बझाङ–१ (क) मा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि हिजो उपचुनाव भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot