Logo

सुक्नथाले अलैँची बगान



ताप्लेजुङ (फुङ्लिङ), ४ चैत । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ लिङखिका शेरबहादुर लिम्बूको अहिले अलैँचीमा सिँचाइ गर्न व्यस्तता बढेको छ । लामो समय वर्षा नहुँदा अलैँचीबगान सुक्नथालेपछि बिहानबेलुका उनी अलैँची बगानमै भेटिन्छन्  ।

सुख्खा मौसमका करणले अलैँची बगान सुक्नथालेपछि सोही गाउँपालिका—६ काविर्खबहादुर लिम्बू अलैँची बगानमै दिन बिताउन थालेका छन् । सिरिजङ गाउँपालिका—६ मामाङखेका हर्क माबो पनि अलैँचीमा सिँचाइ गर्नमै व्यस्त छन् ।

ताप्लेजुङका अर्लैँची किसान अचेल अलैँचीमा सिँचाइ गर्नमै व्यस्त छन् । लामो समयसम्म वर्षा हुनसकेको छैन । वर्षा नभएपछि अलैँची बगान सुक्न थालेका छन् । अलैँची सुक्न थालेसँगै किसानमा चिन्ता बढेको छ । समयमै सिँचाइ गर्न सकिएन भने अलैँची बगान नै सुक्ने शेरबहादुर लिम्बूले बताए । उनले भने, “अहिले १६ वटा स्प्रिङकल (सिँचाइ गर्ने मेसिन) घुमाइ राखेको छु । एक ठाउँबाट अर्कोमा सार्नमै व्यस्त छु ।”

यसवर्ष ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा हिउँ न्यून मात्रामा परेको छ । वर्षा र हिमपात न्यून भएसँगै अलैँची बगानका लागि चिस्यानको समस्या भएको छ । हरियो देखिनुपर्ने बगान यतिबेला सुकेर रातै देखिन थालेका फुङ्लिङ नगरपालिका–६ सिद्धिडाँडाका कृष्ण गुरुङको भनाइ छ । आम्दानीको मुख्य स्रोत अलैँची नै सुक्नथालेपछि किसान चिन्तित बनेका छन् ।

विगत वर्षमा पुसमा वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने गर्दथ्यो । तर यसवर्ष भने ताप्लेजुङको हिमाली क्षेत्रमा खासै हिमपात भएन । हिमाली क्षेत्रमा हिमपात नहुँदा पानीको स्रोतमा पनि कमि हुँदै गएको किसान बताउँछन् । सिरिजङ–६ माङ्माखेका रनकुमार माबोको यतिबेला हरियो हुनुपर्ने बगान सुकेर रातो भएको छ ।

अर्को वर्ष उत्पादनमा ठूलो ह्रास आउन सक्ने उनको भनाइ छ । साउनदेखि मङ्सिर पहिलो सातासम्म टिपिसक्नुपर्ने अलैँचीमा त्यसपछि सिँचाइ गर्नुपर्छ । सम्भव हुनेले प्रत्येक बोटको फेदमा मल हालेर त्यसलाई भिजाउँछन् । जरामा चिस्यान रहोस् भनेर पतझड्ले छोप्ने र त्यसमा सिँचाइ गर्ने गरिन्छ ।

यतिबेला जिल्लाका बेँसीदेखि लेकसम्मकै बालीनालीमा पानी नहुँदा असर परेको छ । वर्षाले टुसामा फूल खेल्न सहयोग गर्दछ र अर्को वर्षको उत्पादनमा वृद्धिमा सहयोग पु¥याउँछ । यतिबेला अलैँचीलाई पानीको अधिक आवश्यकता पर्छ । पानीले भिजाउने र तातोले राप सिर्जना गर्दा जरा मर्ने जोखिम अति हुन्छ  । जमिन तातेको बेला वर्षा हुँदा राहतको साटो बिरुवालाई असर पर्ने किनान बताउँछन् ।

अलैँचीलाई ओसिलो जमिन र सिँचाइ सुविधा अनिवार्य चाहिन्छ । एक नगरपालिकासहित नौ स्थानीय तह रहेको ताप्लेजुङमा ६१ वडा छन् । फक्ताङलुङ–७ ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँची खेती गरिन्छ । जिल्लाको मुख्य आम्दानीको स्रोत नै अलैँची हो । अहिले ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारमा प्रतिमन (४० किलो) अलैँची ७९ हजारमा खरिदबिक्री भइरहेको किसान बताउँछन् ।रासस



प्रतिक्रिया दिनुहोस्