Logo

यस्ता छन् सांसद ढकालले आगामी बजेटमा समावेश गर्न दिएका तीन नविन सुझावहरु



काठमाडौं,६ चैत । प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले बिनियोजन बिधेयक २०८१ का सिद्धान्त र प्राथमिकता बारे छलफलमा भाग लिदै केहि नविन सुझाब दिएका छन्।

सांसद ढकालले बजेटको प्राथमिकतामा कृषि उत्पादनमा बृद्धि गरि निर्यात बढाउने र आयात घटाउने गरि राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने, पर्यटनको थप बिकासको लागि आबस्यक भौतिक पूर्वाधारको निर्माणमा जोड दिदै हस्पिटालिटीलाइ प्रोत्शाहन गर्नुका साथै पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल लाइ पूर्ण क्षमतामा संचालन गर्ने, जलबिधुत विकासमा जोड दिदै जलाशययुक्त बुढीगण्डकी जलबिधुत आयोजनालाइ सबैभन्दा प्राथमिकतामा राखी यथा सिघ्र निर्माण कार्यको थालनी गर्नुपर्नेमा जोड दिएका छन् ।

पूर्वमन्त्री समेत रहेका ढकालले पर्यटन आवगमन र बिधुत उत्पादनमा केहि बृद्धि बाहेक नेपाली अर्थतन्त्रका अन्य प्राय सबै सूचकहरु सन्तोषजनक नभएको बताए । ‘राजस्व संकल लक्ष अनुरुप नहुनु , वितिय क्षेत्र अन्तर्गत सहकारी र लघुवितमा गम्भीर समस्या देखिनु ,ऋणको दायित्व भुक्तानी गर्न ठुलो रकम छुट्याउनु पर्ने, संकलित राजस्वले अनिबार्य दायित्व धन्न नसक्ने, ब्यापार घाटा लगाएतका कारण वर्तमान नेपाली अर्थतन्त्र चुनौतिपूर्ण छ भन्ने देखिन्छ’ प्रतिनिधि सभा बैठकमा सांसद ढकालले भने ।

वर्तमान अर्थतन्त्रका चुनौतीहरुको समाधान गर्न उच्च र दिगो आर्थिक बृद्धि गर्ने, उत्पादनको विकास र रोजगारीको सृजना गर्ने, गरिबी निवारण गर्ने, दिगो बिकासका लक्ष हासिल गर्न सक्ने बजेट अहिलेको आबस्यकता रहेकोमा यस बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरु यो आबस्यकताको सम्बोधन गर्ने खालको नभएको नभई कर्मकाण्डी मात्र भएको भन्दै विधेयकको परिमार्जन र पुनर्लेखनमा उनको जोड थियो।

सांसद ढकालले बिनियोजन विधेयकका सिद्धान्तमा उल्लेख गरिएका प्राय सबै बिषयहरु बिगतको निरन्तरता मात्र छ भन्दै परम्पराको निरन्तरताले मात्रै नया लक्षहरु हँसिल हुन नसक्ने बताए। ढकालले भने ‘बिनियोजन विधेयकका सिद्धान्तमा छुटाउन नहुने बिषयहरु भनेको, शान्ति संबेदनशील बिकासको अबधारणा, वातावरण मैत्री बिकासको अबधारणा नैतिकवान समाजको सृजना र मानवीय मुल्यमान्यताको जगेर्ना पनि हो’। आर्थिक विकास र सुशाशन प्राय सबै राजनैतिक दलको एजेन्डामा परेपनि बिकासको मोडेल र सुशाशनको मापदण्डमा दलहरु प्रष्ट हुनु पर्ने उनको भनाइ थियो।

सांसद ढकालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष हँसिल गर्न आगामी बजेट केन्द्रित हुनु पर्ने बताउदै १५औँ पञ्चवर्षीय योजनामा समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्तिको लागि समृद्धिका ३२ वटा सूचक र सुखका २३ वटा सूचक गरि ५५ सूचक सार्वजनिक गरेको प्रसङ्ग स्मरण गर्दै आगामी बजेट यसकै वरिपरिमा आउने बिश्वाश ब्यक्त गरे ।

प्राय सबै सांसदहरुले समेत उल्लेख गरिरहेका यी बिषयहरु बाहेक ढकालले उठान ३ प्रमुख नबिन बिषयहरुलाई बहसमा ल्याएका छन्।

१, शान्ति संबेदनशील बिकासको अबधारणा, बिनियोजन विधेयकको सिद्धान्तमा समाबेश गर्ने । राज्यको साधन श्रोतको असमान वितरणले समाजमा विभेदको सृजना गर्छ र यहि बिन्दुवाट द्धन्दको बिजारोपण हुन्छ भन्दै सामाजिक न्याय र शान्तिप्रकृयाले सार्थकता पाउन पनि शान्ति संबेदनशील बिकासको अबधारणाको कार्यन्वयन आबस्यक रहेको भनाइ।

२, सामाजिक सदभाव,ऎक्यबद्धता र भाइचाराको अभिबृद्धि गर्न एक अन्तरधार्मिक तथा अन्तर-सास्कृतिक आयोग गठन गर्ने सोच अघि बढाऊने।

३, नैतिकवान समाज सृजनाको लागि बिद्धालय स्तर वाट नैतिक शिक्षा लागु गर्ने । पारिवारिक मूल्य मान्यताको जगेर्ना गर्न व्यापक जनचेतना तथा असल पारिवारिक शिक्षा प्रदान गर्ने । अधिकार र स्वतन्त्रताको नामवाट नेपाल प्रवेश गरेको पश्चिमी हावाले नेपालको असल पारिवारिक मुल्यमान्यताको बिखन्डन गरेको प्रति सरकार सचेत हुनु पर्ने । परिवार बिखन्डन गर्ने र प्राकृतिक मूल्यमान्यता बिपरितका क्रियाकलापमा बैदेशिक सहायता रोक्ने र सरकार परिवार मजबुत बनाउने कार्यमा लाग्ने ।

नेपाल परिवार दलका सस्थापक समेत रहेका ढकालले निरन्तर अन्तर-धार्मिक एकता, पारिवारिक मूल्यमान्यताको जगेर्ना तथा नैतिकवान समाजको सृजना लगाएतका बिषय उठान गर्दै आएका छन्



प्रतिक्रिया दिनुहोस्