Logo

आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता, अध्यक्ष प्रभु साह नै रहने



काठमाडौं, १५ वैशाख । आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता भएको छ । आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रमबीच दुई पार्टी एकता भएको घोषणा गरिएको हो ।

एकतापछि पार्टीको नाम आम जनता पार्टी र प्रभु साहले नै नेतृत्व गर्ने बताइएको छ । आजपाका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टी नेपालका संयोजक नारायण श्रेष्ठले एकताको आधारपत्रमा हस्ताक्षर गरेका छन् ।

यस्ता छन् दुई पार्टीबीच एकताका आधार पत्रमा उल्लेख भएका बुँदाहरु

१.राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारेको बुझाई, आम जनजीविकाका सवालहरू तथा शोषित, दमित र उत्पीडित वर्ग एवं समुदायका हकहितको विषय सँगसँगै नेपालको अग्रगामी आन्दोलनमा गुणात्मक विकासको अपरिहार्यता जस्ता महत्वपूर्ण क्षेत्रहरुमा आधारभूत रूपमा हेर्दा हाम्रा बुझाई एवम् दृष्टिकोणहरुमा एकरूपता विद्यमान रहेको निचोडमा पुग्यौं ।

२.नेपालमा विद्यमान दलीय शासन प्रणाली, दलभित्र ठुलो दलको सिन्डिकेट र ठुलो दलभित्र पनि निश्चित गुट नेता र आसेपासेहरुको शासनले लोकतन्त्र सिर्फ देखाउने दाँत भएको र आम जनता लाचार भई शोसित हुनुपरेको यो बिडम्बनापूर्ण परिस्थितिलाई चिर्दै आम जनताको वास्तविक शासन सत्ता ल्याउन तेस्रो जनआन्दोलनको अपरिहार्य आवश्यकता रहेकोले यसका निम्त सम्पूर्ण देशभक्त, प्रगतिशील अग्रगामी शक्तिहरु एकजुट भएर अगाडि बढ्नुपर्ने निष्कर्षमा पुग्यौं ।

३.पछिल्लो समय विश्वभर सूचना प्रविधिमा आएको अद्भुत क्रान्ति तथा सम्राज्यवादीहरुको गुरु योजना अनुरूप नेपालमा विकसित भगौडा दलाल पूँजीपति वर्गको वर्चस्वले देश उजाड़ एवं बर्बाद भैरहेको सन्दर्भमा राज्यको लुटकारी चरित्रबाट मुक्ति दिलाउन यसको शशक्त प्रतिवाद गर्न सहमत भयौं ।

४.पार्टी एकता पश्चात मा.प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने र यसमा तत्तकालीन समाजवादी जनएकता पार्टी नेपालतर्फका नारायण श्रेष्ठ लगायतका नेतृत्वहरुको कार्य विभाजन एवं भूमिका सम्मानजनक रहने गरी जिम्मेवारी ठोस गर्न सहमत भयौं ।

५.अग्रगामी सोच(विचारका लोकप्रिय व्यक्ति, समुह, संगठन र शक्तिहरु बिच योजनाबद्ध वार्ता, संवाद र सहकार्य मार्फत निकट भविष्यमा थप बृहद ध्रुवीकरण एवं एकतालाई नयाँ उचाईमा पुर्याउन संकल्पित भयौं ।



प्रतिक्रिया दिनुहोस्

Screenshot