Logo

उच्चस्तरीय समिति गठन गरेर नैतिकतामा प्रश्न उठेकामाथि छानविन गरौंः नैनसिंह महर



काठमाडौं, ६ चैत । नेपाली कांग्रेसका नेता नैनसिंह महरले नेपालका राजनीतिज्ञमा पछिल्लो समय राजनीतिक नैतिकताको खडेरी देखिएको बताएका छन् । प्राज्ञिक विमर्श समूहले काठमाडौंको कीर्तिपुरमा आयोजना गरेको लोकतन्त्र र नैतिकता विषयक बहसमा नेता महरले राजनीतिज्ञमा नैतिकता अहम विषय भए पनि त्यसमा ह्रास हुने क्रम बढ्दो रहेको बताए।

‘२०१७ साल पछाडि सार्वजनिक ओहदामा रहेका व्यक्ति वा कुनै संस्थामाथि नैतिकरूपमा प्रश्न उठेको छ भने उनीहरूमाथि छानविन हुनुपर्छ। कारबाही सिफारिसका लागि उच्चस्तरीय छानविन समिति बनाउनुपर्छ,’ उनले भने, ‘संसद्मा लामो समयदेखि उच्चस्तरीय छानविन समितिको कुरा उठेको र जनताले पनि यो विषय उठाइरहेकोमा सांसदहरूको गैरजिम्मेवार व्यवहारका कारण समिति गठन हुन सकेको छैन।’

सांसदहरू देशप्रति जिम्मेवार देखिनु आवश्यक रहेको उनले बताए । सांसद साच्चिकै देश र जनताका प्रति जिम्मेवार छन् भने सदनमा नाटकवाजी, होहल्ला गर्नुभन्दा पनि उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने आवश्यकता उनले औल्याएका छन् ।

नेता महरले त्यसरी गठित समितिले २०१७ साल यताका सार्वजनिक पद धारण गरेका व्यक्ति वा संस्थामध्ये नैतिकताको प्रश्न उठेका सबैमाथि अनुसन्धान गर्नुपर्ने बताए।

समाजमा भ्रष्टाचारलाई मात्र बढी प्राथमिकता दिने गरिएको बताउँदै उनले नैतिक भ्रष्टिकरण भएका व्यक्तिहरूको हर्कतले पनि देशलाई गम्भीर असर पारिरहेको उनको ठहर छ। ‘कानुन र नैतिकता अलि फरक हुन्। कानुनभित्र परेको मान्छेलाई कारबाही गर्न सकिन्छ। नैतिकता भनेको उसले पालना गर्ने आचरण हो। तै पनि व्यक्तिले गुमाएको नैतिकताका कारणले समाजमा समस्या पैदा गरिरहेको हु्न्छ,’– उनले भने ।

यो प्रवृत्ति सुशासन र समृद्धिको बाधक रहेको उनको भनाइ छ। नैतिकताको कमी हुँदा समाजलाई अपेक्षाकृति गतिमा अगाडि बढाउन नसकिएको उनले बताए। ‘नैतिकता हराएकै कारण नेपाललाई जुन ठाउँमा पुर्‍याउन सकिन्थ्यो, त्यहाँ पुगाउन सकेका छैनौं। युवाहरूले यही देशमा भविश्य देख्नुपर्थ्यो। राजनीतिक दलका नेता इमान्दर हुनुपर्थ्यो। कर्मचारी इमान्दार हुनुपर्थ्यो। पत्रकारले निश्पक्ष कलम चलाउनुपर्थ्यो। त्यो कम भएको देखिनु भनेको नैतिकता ह्रास हुँदै जानु हो,’ महरले भने।

संसद् जनताप्रति जिम्मेवार हुन नसकेको महरको आरोप छ। संसदमा पुगेर कोही भत्तामात्रै खाने र कोही सत्तामात्रै चलाउने धाउन्नमा रहेको उनले बताए। यसले जनउत्तरदायित्व नदेखिएको उनको ठहर छ।

उनले छिटो–छिटो गठबन्धन भत्किनु र बन्नु पनि राजनीतिज्ञमा नैतिक ह्रासको प्रमाण भएको महरको भनाइ छ। यसले देशलाई ठूलो क्षति पु्ग्ने गरेको बताए । नैतिकता ह्रास हुँदा गलत बाटो अवलम्बन गरिने भएकाले त्यसले मुलुक र जनताका लागि ठूलो दीर्घकालिन असर पुर्‍याइरहेको महरको धारणा छ।

यस्तै वर्तमान सरकारमा नै विभिन्न विवादमा मुछिएका र अनुसन्धानको दायरमा रहेका व्यक्तिहरू मन्त्री रहेकाले यसले राजनीतिक नैतिकता नदेखाउने महरले बताए। यस्ता प्रवृत्तिले जनतामा चरम निराशा बढ्ने भएकाले निश्पक्ष छानविन हुनुपर्ने उनले बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot