Logo

एमाले-कांग्रेसको गठबन्धन सम्भव छैनः उपाध्यक्ष ज्ञवाली (भिडिओसहित)



काठमाडौं, १४ चैत । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीभित्र कुनै गुट उपगुट नरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले एक ढिक्का भएर अगाडि बढिरहेको बताएका हुन् ।

साथै, वर्तमान सत्ता गठबन्धन स्वभविक रहेको उनको दाबी छ । उनले देश र जनताको लागि वर्तमान सरकारले सकारात्मक काम गर्नसक्ने उनको भनाइ छ । यो गठबन्धन ०८४ सम्म नै टिकाएर अगाडि जान आवश्यक रहेको उनको भनाइ छ । अहिलेको गठबन्धनमा अधिकांश विचार मिल्ने दलहरुको सहभागिता रहेकाले पनि यो गठबन्धन टिक्ने उनको दाबी छ ।

‘अहिले जुन गठबन्धन बनेको छ, यो स्वभाविक गठबन्धन हो । यो आवस्यक कुरा हो । देश र जनताको लागि यसले सकारात्मक काम गर्छ भन्ने हामीलाई विश्वास छ । यसमा अधिकांश एउटै विचार भएका पार्टीहरु एक ठाउँ मिसिएर काम गर्नु राम्रो कुरा हो । पार्टी एउटै बनाउन सकिँदैन भने मोर्चा बनाएर अगाडि बढ्नुपर्छ,’– उनले भने ।

एमाले–कांग्रेस मिलेर अर्को गठबन्धन बनाउने कुरामा कुनै सत्यता नरहेको उनले बताए । एउटा पार्टीको बहुमत नआउने अवस्थामा विचार मिल्ने दलहरुले मोर्चा गरेर अगाडि जानुको विकल्प नरहेको उनले बताए । अहिले पार्टी एउटै बनाउने सम्भावना नभए पनि वामपन्थीहरुले आफूहरुको एउटै लक्ष्य समाजवादको बाटोमा अगाडि बढ्नुपर्ने बताए ।

‘एउटा कुनै पार्टीको बहुमत आउन नसक्नु दुर्भाग्यपूर्ण अवस्था हो । अहिलेको अवस्थाबाट जनताले सिक्ने पाठ एउटै पार्टीलाई बहुमत दिने हो । आउने निर्वाचनसम्म मिलेर सरकार बनाउन आवश्यक छ । तर, नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने सम्भावना र प्रश्न दुवै छैन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot