काठमाडौं, चैत १४ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी विदेशमा रहेका बेला केन्द्रीय समितिको बैठक बोलाएकी छन् । चौधरी हाल जापान भ्रमणमा रहेका छन् । अध्यक्ष श्रेष्ठले संरक्षक चौधरीको उपस्थिति बिना कैलालीको टिकापुरमा बैठक बस्न लागेको भन्दै उनी समर्थक केन्द्रीय सदस्यले विरोध जनाएका छन् । विरोधसँगै बैठक बहिस्कार गर्ने तयारी समेत गरेको बुझिएको छ ।
अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी नभएको अवसरमा बैठक बोलाएर सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन नगर्ने निर्णय गराउन खोजेको नाउपाका नेताहरुले बताएका छन् । पार्टी अध्यक्ष श्रेष्ठले केन्द्रमा नयाँ समीकरणलाई समर्थन गरेकी छन् भने प्रदेशमा पनि सोहि समीकरणलाई समर्थन गर्नुपर्ने बताउदै आएकी छन् । तर संरक्षक चौधरीले भने सुदूरपश्चिममा आफ्नो दललाई सहभागी बनाएर नाउपाका ७ जना मध्ये ५ जना सांसदलाई मन्त्री बनाएका छन् ।