Logo

गृहमन्त्री लामिछानेलाई कांग्रेस उपसभापति गुरुङको जवाफः ‘काण्डैकाण्डमा मुछिएको मान्छेले ठूला कुरा नगर्दा नै राम्रो हुन्छ’



काठमाडौं, १५ चैत । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने काण्डैकाण्डमा मुछिएको आरोप लगाएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले काण्डैकाण्डमा मुछिएका लामिछानेले कांग्रेससँग ठूला कुरा नगर्दा नै राम्रो हुने बताए । ‘यस्ता काण्डैकाण्डमा मुछिदै आउने मान्छेले धेरै ठूला कुरा नगर्दा राम्रै होला । उनको लागि राम्रै हुन्छ भन्ने मलाई लाग्छ,’– उनले भने ।

साथै, कांग्रेसले लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको भन्ने हल्लामा कुनै सत्यता नरहेको उनको दाबी छ । आफूहरुले कुनै व्यक्तिको भन्दा पनि प्रवृत्तिको विरोध गरेको उनले बताए । तत्कालीन अर्थमन्त्री रामशरण महतले आफूमाथि प्रश्न उठेपछि राजीनामा दिएको स्मरण गराउँदै उनले आफूहरुले गृहमन्त्री लामिछानेलाई नैतिकता सिकाउन खोजेको बताए । गृहमन्त्री लामिछानेमाथि आफूहरुले नभएर पहिलो प्रश्न जनताले उठाएको उनको दाबी छ ।

‘व्यक्तिको कुरा होईन, प्रवृत्तिको कुरा गर्दैछु म । प्रश्न उठेपछि कतिपय मन्त्रीहरुले राजीनामा गरेको इतिहास छैन र ? प्रश्न उठेपछि मात्रै कहीँ निवेदन दिएको पनि होईन । बहुदलीय प्रजातान्त्रिक व्यवस्थामा तत्कालीन अर्थमन्त्री रामशरण महतमाथि प्रश्न उठ्यो । तपाईँको विदेशी खातामा पैसा छ भनेर प्रश्न उठेपछि उहाँले राजीनामा दिनु भएको छ । यो हो नि तरिका त । नैतिकताको प्रश्न त यो हो नि । त्यसकारण यो राजनीतिक संस्कार सम्झाइदिएको हामीले त । अहिलेका गृहमन्त्रीमाथि प्रश्न पहिला संसद्बाट होईन, जनताबाट उठ्यो,’– उनले भने ।

लामिछाने आफूमाथि सहकारी ठगीको आरोप पुष्टि हुने प्रमाण मेट्नकै लागि गृहमन्त्री भएको उनको आरोप छ । विगतमा पनि लामिछानेमाथिका विभिन्न आरोपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बचाउ गरेको उनले बताए । लामिछानेले प्रधानमन्त्री प्रचण्डको शरणमा परेर बचाइदिनुस् भनेपछि उनीमाथि दोहोरो नागरिकतामा कारबाही नभएको र राहदानी प्रकरण पनि त्यसै सेलाएको उपसभापति गुरुङको आरोप छ ।

‘जसको नागरिकताको विषयमा अहिलेकै प्रधानमन्त्रीले भनेर महान्यायाधिवक्ताले उहाँको दुईवटा नागरिकताको विषयलाई अदालतमा अगाडि बढाइएको छैन । प्रश्न उहाँमाथि आउँछ कि आउँदैन ? राहदानीको विषय पनि उहाँमाथि प्रश्न छ कि छैन ?’ प्रश्न गर्दै उनले भने, ‘महान्यायाधिवक्ताको कार्यालयले नरोकेको भए, अहिलेको गृहमन्त्रीको ठाउँमा अर्को सर्वसाधरण भएको भए जेल जान्थ्यो, हत्कडी लाग्थ्यो । प्रधानमन्त्रीको पाउमा शिर लगेर लौ प्रभु बचाइदेृउ भनेपछि मुद्दा नचलेको हो । यो कुरा जनतालाई थाहा दिनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्