Logo

अध्यक्ष केसीसहित एनआरएनए प्रतिनिधिहरुले भेटे उपप्रधानमन्त्री महासेठ



काठमाडौं, १५ चैत्र । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटवार्ता गरेको छ ।

भेटमा संघका अध्यक्ष डा केसीले गैरआवासीय नेपालीले उठाएका मुद्दाप्रति नेपाल सरकारले हालसम्म गरेका विभिन्न नीतिगत व्यवस्था र तिनको कार्यान्वयनका लागि कृतज्ञता व्यक्त गर्दै नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका विविध क्षेत्रको समृद्धिको लागि सरकार तथा सरोकारवालाहरुस“ग हातेमालो गर्दै सहकार्यका लागि संघको तर्फबाट प्रतिबद्धता जनाए ।

सो क्रममा अध्यक्ष डा केसीले देशको पूर्वाधार विकासका लागि विश्वभरका गैरआवासीय नेपाली मिलेर १० अर्बको लगानी रहेको परियोजना सुरु गरेको जानकारी गराए । उनले भने,‘अहिले १०अर्ब लगानीबाट सुरु गरेपनि भविष्यमा हाम्रो योजना ५० अर्बको लगानी भित्र्याउनेछ ।’ त्यसका लागि गैरआवासीय नेपालीहरुको बाहुल्य रहेको देशमा रोड शो समेत गर्ने र त्यसमा नेपाल सरकारलाई समेत सहभागी गराउने योजना रहेको डा केसीले बताए ।

लगानी सम्मेलनमा एनआरएनएले सरकारस“ग सहकार्य गर्न लागेको जानकारी गराउँदै अध्यक्ष डा केसीले गैरआवासीय नेपालीहरुलाई हालको समयमा लगानीको वातावरण बन्दै गएपनि केही प्रावधानको सहजीकरणका लागि निरन्तर छलफलमा रहेको उल्लेख गरे । केन्द्रमा मात्रै नभई नेपालका सातै प्रदेशका लागि बृहत योजना बनाई काम गर्ने रणनीति रहेको उनको भनाई थियो । सोही अवसरमा आगामी जुन महिनामा संघले प्रथम एनआरएन विश्व महिला सम्मेलन गर्न लागेको अवगत गराए ।

जवाफमा मन्त्री महासेठले लगानीका क्षेत्र पहिचान गरेर मात्रै लगानी गर्न आग्रह गरे । बिनाअध्ययन ठूला ठूला परियोजनामा लगानी गर्नुभन्दा साना तर लगानी सुरक्षित हुने क्षेत्र पहिचान गर्न आवश्यक रहेको उनको भनाई थियो । फरक प्रसंगमा मन्त्री महासेठले जो जहाँ भएपनि गैरआवासीय नेपालीहरु एउटै कित्तामा उभिएर देशको लागि हातेमालो गर्नुपर्नेमा जोड दिए । उनले भने,‘मन ठूलो बनाएर सबैस“ग मिलेर अघि बढ्नुस् ।’

भेटमा उपमहासचिव सोम सापकोटा,संघकी महिला सचिव तथा विदेशमा नेपाली सामान प्रवद्र्धन कमिटीकी संयोजक राधिका गुरुङ(टीका), एनआरएन अभियन्ता तीर्थ भट्टराई र अधिकृत कुनाल मिश्र उपस्थित थिए ।



प्रतिक्रिया दिनुहोस्